आइतबार, वैशाख २३, २०८१

आतङ्कवादी आक्रमणमा सत्र सैनिक मारिए

नेपालखोज २०८० साउन ३१ गते १५:५८

नियामे । नाइजरको पश्चिमी सीमा नजिकै संदिग्ध जिहादीहरूले गरेको आक्रमणमा १७ जना नाइजर सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

मङ्गलबार अबेर रक्षा मन्त्रालयले एक विज्ञप्ति निकालेर माली नजिकको कौउउगौ शहरमा आतङ्कवादीले सेनामाथि हमला गर्दा १७ जनाले ज्यान गुमाएका तथा २० जना घाइते भएका जनाएको छ ।

घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ । सबै घाइतेलाई राजधानी नियामे ल्याइएको छ ।एक सय भन्दा बढी आक्रमणकारीलाई निक्रिय पारिएको दाबी गर्दै सेनाले अतिवादीलाई परास्त गर्न सैन्य बल प्रबिद्ध रहेको बताएको छ ।

जिहादी विद्रोहले अफ्रिकाको साहेल क्षेत्रलाई एक दशकभन्दा बढी समयदेखि आक्रान्त पारेको छ । सन् २०१२ मा उत्तरी मालीमा फैलिएको जिहादी आक्रमणले त्यसको तीन वर्षपछि छिमेकी नाइजर र बुर्किना फासोलाई पनि गाँजेको छ ।

तीन देशहबीचको सीमानामा नियमित रूपमा इस्लामिक स्टेट समूह र अल–कायदासँग सम्बद्ध विद्रोहीहरूले आक्रमण गर्दै आएका छन् । उक्त क्षेत्रमा अतिवादी आक्रमणमा परी हजारौं सेना, प्रहरी अधिकारी र सर्वसाधारणले ज्यान गुमाएका छन्भने लाखौँ पलायन भएका छन् ।

निरन्तको रक्तपात र आक्रमणबाट आजित भएका ती देशका सेनाले सैन्य विद्रोहको असफल प्रयास पनि गर्दै आएका छन् । गत महिनाको २६ तारिखमा नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बजुमलाई अपदस्थ गरिएको छ ।

उनलाई हिरासतमा राखेर सेना प्रमुखले राज्यसत्ता आफूले सञ्चालन गरेको घोषणा गरेका छन् । उनलाई तत्काल निःशर्त थुनामुक्त गर्न र लोकतन्त्र बहाली गर्न अमेरिकालगायत अन्तरराष्ट्रिय समुदायले माग गर्दै आएका छन् ।

नाइजरलाई उत्तरपूर्वी नाइजेरियाको उग्रवादी समूह बोको हरामले पनि आक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया