आइतबार, वैशाख २३, २०८१

पूर्वप्रधानमन्त्री वाजपेयीको सम्झनामा स्मृतिसभा

नेपालखोज २०८० साउन ३१ गते १६:४८

नयाँदिल्ली । पूर्वप्रधानमन्त्री एवं भारतीय जनता पार्टी (भाजपा) का नेता अटल बिहारी वाजपेयीको पाँचौँ पुण्यतिथिका अवसरमा आज नयाँदिल्लीस्थित ‘सदैव अटल’ स्मारकमा एक स्मृतिसभा आयोजना गरियो ।

त्यस अवसरमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी उपराष्ट्रपति जगदीप धनकर, गृहमन्त्री अमित शाह र केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट विभूषित नेता वाजपेयीको स्मारकमा पुष्पहारसहित श्रद्धाञ्जली अर्पण गरे ।

भाजपाले पहिलोपटक राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)का साझेदारहरूलाई पनि अटल स्मारकमा आयोजित श्रद्धाञ्जलीसभामा आमन्त्रण गरेर नेता वाजपेयीले देखाएको एकता र सद्भावको भावनालाई निरन्तरता दिने जमर्को गरेको छ ।

स्मृतिसभामा एनडीएका नेताहरू विहारका पूर्वमुख्यमन्त्री जीतन राम मांझी, तमिल मनिला कङ्ग्रेसका नेता जीके वासन, एआइएडीएमकेका थम्बी दुरई, अपना दल नेता अनुप्रिया पटेल, एनसिपी नेता प्रफुल्ल पटेल र अगाथा सङ्गमालगायत अन्य नेताको उपस्थिति थियो ।

लोकसभा अध्यक्ष ओम बिर्ला र राज्यसभा उपाध्यक्ष हरिवंश, जेडियु नेता नितिश कुमार, वाजपेयीकी धर्मपुत्री नमिता कौल भट्टाचार्यले दिवङ्गत नेताप्रति पुष्पार्पण गरे ।

अर्को वर्षको लोकसभा चुनावलाई दृष्टिगत गरी केन्द्र र राज्यमा एनडीएलाई थप बलियो बनाउन भाजपाले राजनीतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । ती सबै कार्यक्रममा सत्तारुढ गठबन्धनका साझेदारलाई सरिक गराउने नीति अख्तियार गरेको छ ।

प्रतिक्रिया