आइतबार, वैशाख २३, २०८१

पाकिस्तानमा ‘ईशनिन्दाको आरोपमा’ गिर्जाघरहरूमा आगजनी

नेपालखोज २०८० साउन ३२ गते १५:१३

इस्लामाबाद । इस्लाम धर्मको पवित्र ग्रन्थ कुरानको अपमान गरिएको भन्दै पाकिस्तानको पन्जाब प्रान्तस्थित एउटा सहरमा हजारौँ मानिसहरूले कम्तीमा चारवटा गिर्जाघरमा आगजनी र इसाईहरूका केही घरमा तोडफोड गरेको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार जरानवाला सहरस्थित ती गिर्जाघरसँग जोडिएका एक दर्जनजति भवनमा पनि क्षति पुगेको छ।

ती घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले १०० जनाभन्दा बढीलाई हिरासतमा लिएको छ र हिंसाबारे अनुसन्धान थालेको छ। प्रहरीका अनुसार जरानवालामा स्थिति तनावपूर्ण छ।

प्रहरीले ईशनिन्दासम्बन्धी कानुनअन्तर्गत इसाई समुदायका दुई जनाविरुद्ध उजुरी दर्ता गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ। पाकिस्तानमा ईशनिन्दालाई मृत्युदण्डसम्म हुन सक्ने अपराध मानिन्छ। अहिलेसम्म कसैलाई ईशनिन्दाको अभियोगमा मृत्युदण्ड दिइएको छैन।

तर उक्त ईशनिन्दाको आरोप लागेका दर्जनौँ मानिसको भिडले गरेको आक्रमणका कारण हत्या भएको छ।

दुई वर्षअघि ईशनिन्दाको आरोप लागेका श्रीलङ्काका एक नागरिकलाई भिडले आगो लगाएर हत्या गरेको थियो। सन् २००९ मा पन्जाबको गोर्जा जिल्लामा इस्लाम धर्मको अपमान गरेको भन्दै भिडले ६० वटा घरमा आगजनी र छ जनाको हत्या गरेको थियो।

ब्रिटिश उपनिवेशकालमा १९औँ शताब्दीमा ईशनिन्दा गर्नेलाई दण्ड दिने कानुन बनेको थियो। पछि सन् १९८० को दशकमा उक्त कानुन उल्लङ्घन गर्दै इस्लामको अपमान गर्ने व्यक्तिलाई मृत्युदण्डसम्म हुनेगरी अझ कडा कानुन ल्याइयो।

पाकिस्तानको जनसङ्ख्याको ९६ प्रतिशत भाग मुस्लिमहरूको छ।

प्रतिक्रिया