डेढ अर्ब बढी लगानीमा ‘जनकपुर एग्रो’ फार्म खाेल्दै व्यवसायी अर्याल

नेपालखोज २०८० भदौ १ गते १५:१६

काठमाडौं । मेडिकल व्यवसायीको लगानीमा ‘ग्रिनफिल्ड पोल्ट्री फार्म’ सञ्चालनमा आउने भएको छ । १ अर्ब ६२ करोड ३० लाख रुपैयाँ लगानीमा ‘जनकपुर एग्रो फार्म लिमिटेड’ ले एकैपटक तीनवटा फार्म सञ्चालनमा ल्याउन लागेको हो ।

एग्रो फार्ममा पोल्ट्रीका साथै फर्टिलाइजर र सिएजी बायोग्यास प्लान्ट पनि निर्माण हुने भएको छ । एग्रो फार्म सन् २०२५ सम्म सञ्चालनमा ल्याउने तयारी भएको छ । फार्म यो महिनाभित्र आंशिकरूपमा सञ्चालनमा ल्याउने तयारी भएको कम्पनीले जनाएको छ ।

फार्ममा ७० प्रतिशत बैंक ऋण र बाँकी ३० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ । जसअनुसार १ अर्ब १३ करोड ६० लाख रुपैयाँ बैंक ऋण र बाँकी ४८ करोड ७० लाख रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुनेछ ।

कुखुरापालन व्यवसायमा संलग्न गराउन कम्पनी स्थापना भएको हो । फार्मले लेयर्स कुखुरा र अन्डा उत्पादन गर्छ । फार्ममा ५१ हजार ८ सय ४० लेयर्स सेड र १ लाख कुखुरा उत्पादन गर्ने अर्को गरी दुई सेड हुने भएको छ ।

उद्योगले वार्षिक ८ हजार ७ सय २० टन जैविक मल उत्पादन गर्ने भएको छ । प्रस्तावित सिएजी बायोग्यास प्लान्टबाट ८ सय किलोवाट बिजुली उत्पादन हुने जनकपुर एग्रोले जनाएको छ । उद्योगले १ अर्ब ३६ करोड ८३ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

पर्यटकको बढ्दो आवागमन र तीव्र सहरीकरण, सहरीका खाने बानीमा परिवर्तन र कुखुराको मासु र अन्डा उपलब्धता सबै सहरी केन्द्रमा र साना बजार क्षेत्रमा पनि छ । पोल्ट्री उद्योग आर्थिक चक्रबाट अपेक्षाकृत अछुतो छ । हालको उपभोग प्रवृत्ति हेर्दा कुखुरा उत्पादनको माग मध्यम अवधिमा स्थिर रहने सम्भावना छ ।

जनकपुर एग्रोका अध्यक्षमा मेडिकल व्यवसायी खुमाप्रसाद अर्याल छन् । प्रबन्ध निर्देशक शोभाकान्त ढकाल छन्। अर्याल गण्डकी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका अध्यक्ष, युनिभर्सल कलेज अफ मेडिकल साइन्सका प्रबन्ध निर्देशक र नेपालगन्ज मेडिकल कलेजका निर्देशक हुन् ।

प्रतिक्रिया