शनिबार, जेठ ५, २०८१

३३० अर्ब डलर कर्जासहित चीनको ठूलो रियल इस्टेट कम्पनी एभरग्रेन्ड टाट पल्टियो

नेपालखोज २०८० भदौ १ गते १८:२३

काठमाडाैं । आर्थिक मन्दीबाट गुज्रिरहेको चीन एकपछि अर्को संकटमा फस्दै गएको छ। यसैबीचको त्यहाँको लोकप्रिय रियल इस्टेट (घरजग्गा कारोबार) कम्पनी चाइना एभरग्रेन्ड टाट पल्टिएको छ। उक्त कम्पनीले अमेरिकाको एक अदालतमा बैँकरप्सी (टाट पल्टिएको घोषणा) का लागि आवेदन दिएको छ।

एभरग्रेन्ड विश्वकै सर्वाधिक कर्जा भएको रियल इस्टेट कम्पनी हो। यो कम्पनीमाथि ३३० अर्ब अमेरिकी डलरबराबरको कर्जा छ।

कुनैबेला चीनको दोस्रो रियल इस्टेट कम्पनी एभरग्रेन्डले भारी कर्जा लिएको थियो। सन् २०२१ को अन्त्यतिर भुक्तानी गर्न सकेको थिएन। योसँगै चीनमा रियल इस्टेट क्षेत्रको संकटको सिलसिला सुरु भएको थियो।

एभरग्रेन्डको सहयोगी कम्पनी तियान्जी होल्डिंग्सले पनि बैँकरप्सीका लागि आवेदन दिएको छ। कम्पनीले अमेरिकामा बैँकरप्सीको अध्याय–१५ अन्तर्गत सुरक्षा मागेको छ। यसबाट क्रेडिटर्स (लेनदार) ले कम्पनीविरुद्ध मुद्दामामिला गर्न पाउँदैनन्।

सन् २०२१ को मध्यतिर रियल इस्टेट कम्पनीको संकट सुरु भएको मानिन्छ। त्यसयता ठूला कम्पनीले ऋण चुक्ता गर्न सकेका छैनन्। चीनमा हुने घरजग्गा कारोबारमा यी कम्पनीको हिस्सा ४० प्रतिशत छ।

हालको संकटले चीनमा अन्य सेक्टरमा पनि समस्या निम्त्याउने आकलन हुन थालेको छ। त्यहाँको ठूलो प्राइभेट डेभलपर कन्ट्री गार्डनको अवस्था पनि दिनप्रतिदिन नाजुक बन्दै गएको छ। कम्पनीले यो महिना ब्याज भुक्तानीमा डिफल्ट गरेको छ। अहिले यसका लगानीकर्ता चिन्तित छन्। साथै रियल इस्टेटको यो संकटले चीनमा कैयौँ हाउजिङ प्रोजेक्ट अड्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।

एभरग्रेन्डका अनुसार ऋणदाताले यो महिना पुनर्संरचनाका लागि भोट गर्न सक्नेछन्। गत महिना कम्पनीले २०२१ र २०२२ मा कुल ८१ अर्ब डलर घाटा भएको बताएको थियो।

कम्पनीले मार्चमा म्याद पुनर्संरचना योजना दिएको थियो। तर त्यसलाई लिएर मानिसले कैयौँ खालका प्रश्न उठाउन थालेका छन्। सोमबार यो कम्पनीको इलेक्ट्रिक भेहिकल युनिट चाइना एभरग्रेन्ड न्यू इनर्जी कम्पनीले पनि पुनर्संरचनको प्रस्ताव दिएको थियो। चाइना एभरग्रेन्डको सेयमा २०२२ मार्चदेखि निलम्बनमा परेको छ।

एभरग्रेन्ड १९९६ मा स्थापना भएको कम्पनी हो। यो ठूला रियल इस्टेट कम्पनीमध्येको एक मानिन्छ। यसका संस्थापक सु जियापिन २०१७ मा चीनमा धनाढ्य कारोबारी थिए। रियल इस्टेटमा प्राप्त गरेको सफलतापछि उनको कम्पनीले इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारीसाधन) हेल्थ क्लिनिक, मिनरल वाटरसहित अन्य व्यवसायमा लागेको थियो। -INS

प्रतिक्रिया