कोशी प्रदेशसभा : अध्यादेश सर्वसम्मत पारित

विराटनगर । कोशी प्रदेशसभाले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित भएको छ ।
प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ८१ को उपनियम(१) बमोजिम ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ पारित गर्नका लागि आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले प्रस्ताव गरेका थिए ।
उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ प्रस्ताव पेश गर्दा आजको बैठकमा सहभागी पक्ष र प्रतिपक्षका सदस्यले विरोध गर्नु भएन । सो अवसरमा मन्त्री गौतमले प्रदेशको समृद्धि र विकासका निम्ति एक अर्कामा सहकार्य गर्न जरुरी रहेको उल्लेख गर्दै विकास र समृद्धिका निम्ति साझा सङ्कल्प लिनुपर्ने धारणा राखे ।
बैठकको विशेष समयमा नेपाली कांग्रेस संसदीय दलका तर्फबाट सांसद केदार कार्कीले मोरङको सुन्दर हरैचाबाट सुरु भएको लम्पी स्कीन सङ्क्रमणबाट प्रदेशमा दुई लाख ८१ हजार पशु प्रभावित भई नौ हजार तीन सय ९७ पशु मरेको जानकारी गराए ।
प्रदेशसभाको अर्को बैठक भदौ ४ गते दिउँसो १ बजे बस्ने उपसभामुख दनुवारले जानकारी दिए ।
प्रतिक्रिया