राष्ट्रिय मान्यता प्राप्त दलको बैठक भाेलि फेरि बस्ने

नेपालखोज २०८० भदौ ३ गते १६:०१

काठमाडौं । सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको सर्वदलीय बैठकमा विभिन्न विकल्पका बारेमा छलफल भएपनि सहमति हुन नसकेपछि पुनः सोमबार बस्नेगरी स्थगित भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित बैठकमा सत्तापक्षले तत्काल सदनको अवरोध खुलाएर छलफल हुने वातावरण बनाउन आग्रह गरेको थियो । यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले भने सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्याएको थियो ।

संघीय संसदमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेता सहभागी बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल प्रहरीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्न आग्रह गर्दै त्यसका आधारमा सदनमा अवरोध भइरहनु देश र जनताको पक्षमा नभएको बताएका थिए ।

बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले सदनको अवरोध खुलाउने विषयमा गम्भीर छलफल भएपनि आज कुनै निष्कर्ष निस्कन नसकेको बताए । बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रहरीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्न आग्रह गरेका थिए । सभापति लामिछानेका अनुसार आज गम्भीर र एजेण्डा केन्द्रित रहेर छलफल भएको र सम्भवतः सोमबारको बैठकमा सहमति हुने विश्वास व्यक्त गरे ।

सदनमा निरन्तर अवरोध हुँदा राष्ट्रिय महत्वका विभिन्न विधेयकमा छलफल हुन नपाएको तथा मुलुकका सामू देखा परेका समस्याका बारेमा समेत सांसदहरुले धारणा राख्न नपाएको भन्दै आफूहरुले तत्काल बैठक चल्नुपर्ने धारणा राखेको सभापति लामिछानेको भनाइ छ ।

प्रतिक्रिया