बुधबार, असार १८, २०८२

यू-१९ विश्वकप खेल्ने सबै टोलीको टुङ्गो

नेपालखोज २०८० भदौ ३ गते १६:३८

एजेन्सी । आगमी वर्ष श्रीलंकामा हुने आइसिसी यू-१९ विश्वकप खेल्ने नेपालसहित सबै १६ टोलीको टुङ्गो लागेको छ । ११ टेस्ट टोली सोझै र पाँच टोली क्षेत्रिय छनोट हुँदै विश्वकपमा पुगेका हुन् ।

२०२४ को सुरुवातमा श्रीलंकामा हुने उक्त विश्वकपमा क्षेत्रिय छनोटबाट नेपाल, अमेरिका, स्कटल्यान्ड, न्युजिल्यान्ड र नामिबिया आएका छन् । आयोजक श्रीलंकासँगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्टइन्डिज र जिम्बावेले सोझै विश्वकपमा पुगेका थिए ।

टेस्ट टोली न्युजिल्यान्डले २०२२ को यू१९ विश्वकप कोरोना महामारीको कारण खेलेको थिएन । त्यसैको कारण यस पटक इस्ट एसिया प्यासिफिक छनोट खेल्दै न्युजिल्यान्ड विश्वकपमा छनोट भएको थियो ।

नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली युएईलाई ७ रनले हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।युएईलाई अन्तिम १८ बलमा जितको लागि ११ रन चाहिँदा स्पिनर दीपेश कँडेलले ह्याट्रिक लिँदै विश्वकपमा पुर्याएका थिए । नेपालले २०१६ पछि पहिलो पटक यू१९ विश्वकप खेल्न लागेको हो ।

अमेरिका क्षेत्र छनोटबाट अमेरिका, अफ्रिका छनोटबाट नामिबिया र युरोप छनोटबाट स्कटल्यान्डले विश्वकपमा स्थान बनाएका हुन् । यू१९ विश्वकपमा १६ टोलीलाई चार समूहमा विभाजन गरिनेछ ।

जसबाट हरेक समूहका शीर्ष दुई क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । क्वाटरफाइनलमा पुग्न नसक्ने टोली प्लेट च्याम्पियनसिप खेल्नेछन् ।

प्रतिक्रिया