शनिबार, जेठ ५, २०८१

मेरो चेतनाको दिव्यज्योती प्रदिप गिरि

शेखर गिरि २०८० भदौ ४ गते १२:१७
शेखर गिरि

प्रदिप गिरि मेरा साख्य सहोदर दाजु । तर म भन्दा पनि अरु धेरै धेरै उहाँका साख्य सहोदर भाईहरु थिए र छन् पनि । तसर्थ प्रदिप गिरि कुनै एक परिवार विशेषको पेवा मात्र होइन उनी बाँचे हुक्रेको समाज र समुदायका साझा सम्पदा हुन् । प्रदिप गिरि भाई भतिजाबाद, परिवारवाद, वंशवादका जन्मजात विरोधी रहे ।

समकालिन राजनीतिमा व्यक्तिगत स्वार्थ, नातावाद, कृपावाद, वेथिति र भष्ट्राचारका विरुद्ध उनी एक जोडदार थप्पड हुन् । उहाँको राजनीतीको उद्देश्य र हेतु व्यक्तिगत स्वार्थ भन्दा पनि सर्वोपरि लोकहित र लोककल्याण नै हो । समाजमा उपेक्षित, उत्पडित दलित, महिला, आदिबासी जनजाती, मधेश र मधेशी समाजमा पुछारमा पारिएका सिमान्तकृत भुइमान्छे नै उहाँको राजनीती प्रेरणा को प्रवल रहयो ।

नैतिकता, सत्य, शील, धैर्यता र बहुलबाद, व्यक्तिको स्वतन्त्रताको उहाँ प्रवल पक्षधर आजीवन रहनुभयो । एक्लै भए पनि सत्य बोल्न नडराउने निर्भयता नै उहाँको चारीत्रक विशेषता हो । त्यसैले नयाँ संविधान जारी हुदा यो संविधान अधुरो छ । यसमा संशोधनको आवश्यकता छ भन्दै संविधानमा असहमति जनाएर सभासदका रुपमा हस्तक्षार गर्न वहाँले इन्कार गर्नुभयो ।

प्रदिपजीमा देशको इतिहास, भुगोल धर्म र संस्कृति, साहित्य र ललितकलाका यावत क्षेत्रमा एवं सांसदका रुपमा उहाँका भावहरु र अभिव्यक्तिहरुको दस्तावेज सुरक्षित छ । यो भावी पुस्ताका लागि एउटा प्रकाश स्तम्भका रुपमा नेपाली समाज र देशलाई दिशा निर्देश गर्ने नै छ ।

प्रदिपजीको जीवनशैली अव्यवस्थित र अराजक भएपनि उहाँको विचार श्रृंखला अत्यन्तै अनुशासित, सुगठित र बिज्ञानसम्मत छ । उहाँको विचार श्रृंखला पानी जम्ने आहल होइन । त्यो चारै सुर बाधिएको पोखरीमा थुनिएको पानी पनि होइन । त्यो हिमालयबाट सततः बग्ने हिमनदीको अजस्त्र गतिशिल धारा हो ।

सादगि जीवन विताउने, गाउँको घरझुपडी आश्रमको रुखासुख्खा खाना रुचाउने,खुट्टी खोला किनारमा आफैले रोपेको र हुर्काएको रुख विरुवा माझ बस्न रमाउने उहाँको बानी थियो । प्रदिपजी एक अहिंसाबादी,प्रकृतिप्रेमी, समतामुलक संस्कृतिलाई व्यवहार र संस्कारमा उतारन सक्ने एक राजनेता थिए । साच्चै भन्ने हो भने उनी एक गान्धीबादी थिए र सोहि अनुरुप बाँचे । सबैका प्रिय साथी प्रदिपजीको प्रथम स्मृति दिवसमा श्रदासुमन ।

प्रतिक्रिया