शनिबार, जेठ ३२, २०८२

नेपालले आज हङकङसँग खेल्दै

नेपालखोज २०८० भदौ ५ गते ८:२९

नेपालले चार देश सम्मिलित महिला टि२० आई खेलमा आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ११ : ४५ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित टि२० आई सिरिज खेल्नेछन् ।

आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित टि२० आई सिरिज खेल्नेछन् । सबै टोलीका लागि यो तयारी हुनेछ । नेपाल राम्रो तयारीका साथ एसिया कपमा जान चाहन्छ । नेपालको कप्तानी रुविना क्षेत्री बेलबासे र हङकङको केरी चानले कप्तानी गर्नेछन् ।

नेपालले आजको खेलमा युवा अलराउन्डर पुजा महतोलाई डेब्यू दिने उच्च सम्भावना छ । नेपालले मलेसिया भ्रमणमा पुजा महतो, विकेटकिपर रुवी पोदार र लेगस्पिनर खुशी डंगोललाई पहिलो पटक टोलीमा मौका दिएको छ । जसमा पुजाको डेब्यू पक्कापक्की देखिन्छ । उनी तीव्र गतिसँगै शीर्षक्रममा ब्याटिङ गर्ने गर्दछिन् । भारतको दिल्लीमा क्रिकेट सिकेकी उनी घरेलु क्रिकेट नखेलेपनि ठूलो आशा राखिएको छ ।

विकेटकिपर रुवि पोदार पहिलो रोजाईको विकेटकिपरको रुपमा खेल्ने सम्भावना छ । कप्तान रुविना, सीता रानामगर र इन्दु बर्मा टोलीका प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शनमा नेपालको नतिजा निर्भर रहन सक्छ ।

नेपालको तीव्र गतिको बलिङ आक्रामण उत्कृष्ट छ । कविता कँवर र अश्मिना कर्माचार्यको गतिमा खेल्न मलेसियाली ब्याटरलाई सहज हुनेछैन । कविता कुँवर ब्याटिङ पनि राम्रो गर्ने गर्दछिन् ।

ब्याटिङ र फिटनेश नेपाली महिला टोलीका प्रमुख समस्या हुन् । ब्याटिङ सुधारको लागि नेपालले भारतीय पूर्वक्रिकेटर देविका पाल्शिकरलाई ल्याएको छ । अनुभवी देविकाको प्रशिक्षणपछि टोलीको ब्याटिङमा सुधार हुने आशा राखिएको छ । फिटनेश र फिल्डिङ नेपालले सुधार गर्नै पर्ने कमजोरीमा पर्दछन् ।

उता हङकङलाई नेपालले पछिल्ला तीन मध्य दुई खेलमा हराउन सकेको छैन । मारिको हिल, नताशा मिल्स र केरी चान हङकङका प्रमुख ब्याटर हुन् । विदेशी फ्रेन्चाइज लिग खेल्दै आएकी मारिकोको विकेट नेपाललाई निकै महत्वपूर्ण हुनेछ । बेटी चान हङकङकी प्रमुख बलर हुन् ।

नेपालले २३ अगष्टमा कुवेत र २५ अगष्टमा मलेसियासँग खेल्नेछ । यदी नेपाल शीर्ष दुईमा रहन सके फाइनल २६ अगष्टमा खेल्नेछ । पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानको लागि सोही दिन खेल्नेछन् । नेपाल २८ अगष्टमा थाईल्यान्डसँग खेल्नेछ । थाईल्यान्डसँगको खेल अन्तिम अभ्यास खेल समेत हुने ।

एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा खेल्नेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।

फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसिया, १ सेप्टेम्बरमा बहराइन, ३ सेप्टेम्बरमा भुटान, ४ सेप्टेम्बरमा कतार र ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

नेपालको टोली :

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।

प्रतिक्रिया