बिहीबार, जेठ ३, २०८१

वन्यजन्तु उद्वार केन्द्रसँगै चिडियाखाना बनाइने

नेपालखोज २०८० भदौ ८ गते ७:१७

चितवन । भरतपुरको देवनगरमा निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्रसँगै चिडियाखानासमेत बनाइने भएको छ । भरतपुर भ्रमण वर्षको अवसरमा पर्यटकलाई बाघ लगायतका वन्यजन्तु देखाउन चिडियाखाना निर्माण गरिने भएको हो । उद्धार गरिएका वन्यजन्तुलाई पर्यापर्यटनसँग जोडेर आम्दानी समेत गर्ने गरी योजना अघि बढाइएको हो ।

भ्रमण वर्षका अवसरमा भरतपुर महानगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जलाई यहाँ आउने पर्यटकलाई बाघ देखाउने वातावरण मिलाईदिन आग्रह गरेको थियो । महानगर प्रमुख रेनु दाहालले देवनगरमा निर्माण भइरहेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ, गैँडा, चित्तल लगायतका जनावर देखाउने गरी चिडियाखानाका रुपमा विकास गर्न लागिएको बताइन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत, संरक्षण अधिकृत लगायतको टोलीसँग दाहालले बुधबार स्थलगत अध्ययन र छलफल गरी देवनगरमा चिडियाखाना बनाउने विषयको छलफल भएको बताइन् । चितवन आउने निकै कम पर्यटकले मात्रै बाघ देख्ने गरेको जनाउँदै उनले भ्रमण वर्षसँगै चिडियाखाना सञ्चालनमा आएपछि सबैले बाघ देख्न पाउने बताए । यसलाई खुल्ला चिडियाखानाका रुपमा क्रमशः विकास गर्नेगरी योजना बनाइएको छ । सो ठाउँलाई घाइते वन्यजन्तु राख्नका लागि विकास गरिँदै छ । घाइतेसँग त्यहाँ हिंस्रक वन्यजन्तुसमेत राख्ने योजना निकुञ्जको थियो ।

प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका सो ठाउँमा कम्पाउण्ड वालको केही काम भइसकेको छ । प्राविधिक कर्मचारी बस्ने आवास बनिसकेको छ । चित्तल, मृग जस्ता जनावर राख्ने ठाउँ बनाइएको छ । हात्तीका लागि तीनवटा सेड निर्माण भएका छन् ।

बाघ राख्ने दुईवटा खोर निर्माणका लागि बोलपत्र आह्वान भइसकेको उनले जानकारी दिए । यसका अतिरिक्त अत्यावश्यक अन्य संरचना निर्माणका काम अघि बढाइने उनले बताए । उनले भने ‘भरतपुर महानगरपालिका र निकुञ्ज सहकार्य गरेर थप संंरक्षण बनाउँछौँ ।’ यससँगै चितवन आउने पर्यटकका लागि बाघ देखाउन सकिने उनले बताए ।

हाल निकुञ्जको मुख्यालय कसरामा तीन वटा बाघ खोरमा रहेका छन् । सौराहा क्षेत्रमा थप दुई वटा खोरमै राखिएका छन् । प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले निकुञ्जभित्र राखिएका ती बाघलाई उद्धार केन्द्र देवनगरमा खोरको व्यवस्था गरी देखाउन सकिने बताए ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले नियन्त्रणमा लिएर राखिएका बाघलाई पालेर राख्नु मात्रै भन्दा पर्यटकीय गतिविधिसँग जोड्दा पर्यटक र आम्दानी दुवै बढ्ने बताए । सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भ्रमण वर्षका रुपमा मनाउन लागेको छ । भरतपुर नेपालकै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण महानगर हो ।

निकुञ्ज आउने पर्यटकहरुमध्ये खर्चिला पर्यटक महानगरभित्रकै मेघौली, पटिहानी, जगतपुर क्षेत्रमा बस्ने गर्दन् । निकुञ्जको यसै क्षेत्रमा बढी सङ्ख्या एकसिङ्गे गैँडा, बाघ लगायतका वन्यजन्तु पाइन्छन् ।

प्रतिक्रिया