शनिबार, जेठ ३२, २०८२

‘विपद् प्रतिकार्यमा महिलाको नेतृत्व बढाउनुपर्छ’

नेपालखोज २०८० भदौ १० गते ८:२९

टीकापुर । विसं २०७८ मा कैलालीमा बेमौसमी वर्षापछि बाढी आयो । बेमौसमी वर्षापछिको बाढीले कैलालीका तटीय क्षेत्रका पालिकामा ठूलो क्षति भयो । बाढीले टीकापुर नगरपालिकाका पनि सयौँ परिवार विस्थापित भए । विस्थापित भएर उच्च घर तथा विद्यालयमा बसेकाहरूले विभिन्न खाले समस्यासँग जुध्नुपर्छ । बाढीका कारण विस्थापित भएकी एक गर्भवतीलाई सेल्टरमा बसिरहेका बेला ब्यथाले चाप्यो । निरन्तरको वर्षाले स्वास्थ्य संस्थासम्म जाने बाटो अवरुद्ध भएकाले ती महिलालाई ‘सेल्टरमै’ सुत्केरी हुनुपर्ने बाध्यता थियो ।

व्यथाले च्यापेकीलाई सुत्केरी सेवा दिएकी टीकापुर–८ की स्थानीय निलु चौधरी त्यो पीडा भुल्न नसकिने बताउँछिन् । ‘बाढीले बाटो अवरुद्ध थियो, उहाँलाई व्यथाले च्याप्यो, आवश्यक सरसामान पनि केही थिएन’, उनी भन्छिन्, ‘मैले स्वास्थ्यकर्मीलाई फोन गरेँ, उहाँले सुझाएअनुसार उहाँलाई सुत्केरी गराएँ । मैले कसरी सेवा दिएँ, अहिले सम्झदा डर लाग्छ ।’ त्यसरी सेल्टरमा जन्मिएको नवजात शिशु अहिले ठूलो भइसकेको छ ।

‘त्यो बेला ती सुत्केरी र बच्चालाई जोगाउन नसकेको भए के हुन्थ्यो ?’, उनी भन्छिन्, ‘सेल्टरमा पनि सबैखाले सुविधा चाहिन्छ, हरेक विस्थापित बस्ने ठाउँमा एक जना स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्छ । महिलाका लागि अनिवार्य सुरक्षित आवास चाहिन्छ ।’ कैलाली हरेक वर्ष बाढीजन्य विपद्को जोखिममा पर्छ । कैलालीमा बाढी, हावाहुरी, आगलागी, शीतलहरजस्ता विपद्ले नागरिकलाई जोखिममा पार्छ ।

विशेषगरी बाढीजन्य विपद्ले जोखिममा रहेका क्षेत्रका जोखिममा रहेका नागरिकलाई असर पार्छ । विपद्का समयमा महिलाका सवालमा गम्भीर बन्नुपर्ने र विपद्मा उद्धार, राहत तथा प्रतिकार्यमा महिलाको नेतृत्व बढाउनुपर्नेमा छलफल हुन थालेको छ । स्थानीय विष्णु रेग्मी सुत्केरीका बालबालिका साना हुने भएकाले बच्चाका आमा र गर्भवती राख्ने आवास सुरक्षित, सुविधासहितको छुट्टै हुनुपर्ने बताउँछन् ।

विपद्का समयमा महिला पहिलो प्राथमिकतामा आउनुपर्ने सिनियर अहेव कमल रावल बताउँछन् । ‘विपद्का समयमा महिलामा पनि सुत्केरी, गर्भवती र साना बच्चाका सवालमा गम्भीर बन्नुपर्छ’, उनी भन्छन्, ‘उनीहरूका लागि पहिल्यै योजना बनाएको हुनुपर्छ । उनीहरूलाई तत्काल उद्धार तथा राहतका सुविधा दिनुपर्छ ।’ टीकापुर बाढीजन्य विपद्को मुख्य जोखिममा रहने गर्दछ । बाढी आउँदा मानवीय सङ्कटको जोखिम रहने भएकाले जोखिम न्यूनीकरण गर्न तयार भएका संरचनामा महिलाको नेतृत्व र सहभागिता न्यून रहेकाले महिलाको नेतृत्व बढाउन आवश्यक रहेकामा जोड दिइएको छ । महिलाको प्रजनन भूमिका हुने भएकाले महिला कमजोर हुन्छन् भन्ने भावना त्याग्न र विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा महिलालाई भूमिका दिनुपर्ने आवश्यकता रहेको महिला अधिकारकर्मी गीता चौधरी बताउँछिन् ।

ओरेक नेपालले मानवीय सङ्कट न्यूनीकरण र त्यसमा महिला नेतृत्व बढाउन काम गरिरहेको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बताउँछिन् ।

प्रतिक्रिया