गाडीभाडा नहुँदा चोरी, प्रतिकार गर्दा चक्कु प्रहार

चैनपुर (बझाङ) । गत साता चैनपुरमा आमा छोरालाई चक्कु प्रहार गर्ने आरोपी पक्राउ परेका छन् । कैलालीको कैलारी गाउँपालिका–१ का २२ वर्षीय स्याने चौधरी पक्राउ परेका हुन् ।
सोमबार सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय बझाङले आरोपीलाई सार्वजनिक गरेको हो । चौधरी गएको सोमबार मादक पदार्थ सेवन गरी सुनिता विकको कोठामा गएर विकसहित उनका दुई नाबालक छोरालाई चक्कु प्रहार गरी फरार रहेका थिए ।
सदरमुकाम चैनपुरमा ज्याला मजदुरी गर्दै आएका चौधरी चोरी गर्न कोठाभित्र पसेको र विक परिवारले प्रतिकार गरेपछि भान्छाबाट चक्कुले प्रहार गरी मोबाइल लुटेर भागेका थिए ।
लुटिएको मोबाइलका आधारमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । आरोपित चौधरीमाथि अहिले जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको उनले बताए ।
आरोपित चौधरी मजदुरी गर्न चैनपुरमा ६ महिना अगाडि आएका थिए ।

प्रतिक्रिया