सुन तस्करीको सूचना संकलन गर्न सीआइबीका एसएसपी आचार्य हङकङ प्रस्थान

काठमाडौं । हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा तस्करीसम्बन्धी सूचना सङ्कलनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एकजना उच्च अधिकृत आज हङकङ प्रस्थान गरेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई आवश्यक अनुसन्धानका लागि आज हङकङ पठाइएको जानकारी दिए ।
हङकङबाट ब्रेक शुमा हालेर ६० किलो सात सय १६ ग्राम सुन गएको साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।
त्यसको १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीले लिएको थियो । सीआईबीले यही भदौ ८ गते सुनसम्बन्धीका आवश्यक सूचना र जानकारी भए सीआईबीलाई उपलब्ध गराइदिन सार्वजनिक अनुरोधसमेत गरिसकेको छ ।
आफैं पनि सुनका विषयमा सूक्ष्म अनुसन्धानमा लागेको सीआईबीले इन्टरपोलको समेत सहयोग माग सिकेको छ । सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ ।
सुन प्रकरणमा प्रहरीले २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । जसमा भारतीय र चिनियाँसहितका छ जना विदेशी छन् । सीआईबीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया