माटोमा उच्च अम्लियपना

नेपालखोज २०८० भदौ १४ गते १६:३३

नारायणगढ (चितवन) । भरतपुर महानगरपालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत जमिनको माटोमा अम्लियपना पाइएको छ ।

महानगरको कृषि शाखाका अनुसार गत आर्थिक वर्षमा गरिएको माटो परीक्षणका क्रममा माटोमा अम्लियपनको मात्रा उच्च देखिएको हो ।

महानगरको वडा नम्बर १,४,५,६,१३,१४,१५,२४,२५,२६,२७ लगायतका वडाको माटो परीक्षणका क्रममा अम्लियपना उच्च देखिएको कार्यालयका अधिकृत अञ्जली श्रेष्ठले जानकारी दिईन् ।

उनका अनुसार पाँच सय ४६ नमुना परीक्षणका क्रममा यहाँको मोटोमा अम्लियपना भेटिएको हो । महानगरको खेतीयोग्य जमिनमा अम्लियपना देखिएसँगै कृषि चुनको प्रयोगका लागि किसानलाई अनुरोध गरिएको उनले बताईन् ।

अम्लियपन देखिएको माटोमा बिरुवाको बृद्धिविकास कम हुने, उत्पादन घट्ने, बिरुवाले सजिलै खाध्यत्व पाउन नसक्ने हुँदा कृषि क्षेत्रमा समस्या आउने उनले बताईन् ।

रासायनिक मल र विषादीको बढी मात्रामा प्रयोगका कारण उत्पादन घट्ने र माटोमा क्याल्सियम, चुन र म्याग्नेसीयम कम हुँदा माटोमा अम्लियपन बढ्ने गर्दछ ।

भरतपुर महानगरपालिका ४३ हजार २५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जसमा १५ हजार ७५ हेक्टर क्षेत्रफल कृषि योग्य रहेको छ । यहाँ विभन्न प्रकारका कृषि कर्महुँदै आएका छन् । यसमा महानगरले विभिन्न कृषि पकेट क्षेत्र समेत बनाएर काम गर्दै आएको छ ।

प्रतिक्रिया