सिमेन्ट उद्योगको प्रदूषणबाट बिरामी

मलेखु । धादिङको धुनिबेँसी नगरपालिका–९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट स्थानीय पीडित बनेका छन् । उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय बिरामी पर्न थालेका छन् ।
शरीरभरीमा फोका आउने, चिलाउने, घाँटी सुक्नेजस्ता समस्याले स्थानीय हैरानी खेप्न बाध्य भएका छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ । उद्योग सञ्चालन मापदण्ड पूरा नगरेर प्रदूषण बाहिरिएकै कारण मानव स्वास्थ्यमा त्यसको प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ ।
उद्योग सञ्चालन हुन थालेको केही वर्षयता सामान्य रुघाखोकी र ज्वरोले मात्रै सताए पनि अहिले स्वास्थ्यमा दीर्घरोग देखिन थालेको छ । स्थानीय लक्ष्मी राईले भनिन्, ‘उद्योगबाट निस्कने प्रदूषण बन्द भएन भने हामी अब यहाँ बस्न सक्ने अवस्था रहेन, ज्यान बचाउनकै लागि हामीले थाकथलो छाडेर जानुपर्ने अवस्था आयो ।’
सिमेन्ट उद्योगबाट निस्केको प्रदूषणका कारण जुगेडीका करिब दुई सय ३० प्रत्यक्ष मारमा छन् । स्थानीयका अनुसार यहाँका करिब ५० जनाभन्दा बढीले अहिले घाँटी, छाला र आँखाको उपचार गराइरहेका छन् । धेरैले आफूखुसी उपचार गराइरहेका छन् भने केहीले उद्योग व्यवस्थापन पक्षकै व्यक्तिको रोहबरमा जाँच गराएका छन् ।
जाँच गर्न अस्पताल पुग्दा उद्योग व्यवस्थापन पक्षका व्यक्तिले स्वास्थ्यकर्मीलाई नै दबाबमा पार्ने गरेको पीडितको भनाइ छ । जाँच गरेपछि अस्पतालले दिएको रिपोर्टसमेत उद्योगका मानिसले राखेर आफूलाई हेर्न नदिएको उनीहरुले बताए । घाँटी सुक्खा हुने र शरीरमा फोका आएर चिलाउने समस्या भएपछि केही दिनअघिमात्रै काठमाडौंको वीर अस्पतालमा जाँच गराउँदाको रिपोर्ट नदिएको राईले बताइन् ।
उद्योगबाट निस्कने प्रदूषणले मानवबस्तीमा मात्र नभएर खेतीबालीमा समेत असर पारेको छ । ‘मानव स्वास्थ्यमा त असर पारेकै छ, बारीमा तरकारी रोपे पनी फल्दैन, फले पनि खान मिल्दैन, तरकारीको पातभरी सिमेन्टको धुलो जमेको हुन्छ, कृषिउपज उत्पादनको पकेट क्षेत्रमा फलफूल र तरकारीको उत्पादन नै हुन छाड्यो’, राईले भनिन् ।
‘वातारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन माग गर्दा उद्योगले नदिएपछि सूचनाको हक प्रयोग गरेर राष्ट्रिय सूचना आयोगमार्फत प्रतिवेदन प्राप्त गरेका छन्, गत पुसमा वडा कार्यालयका जनप्रतिनिधि, स्थानीय समुदाय र उद्योग व्यवस्थापन पक्षसँग छलफल पनि भयो, त्यतिबेला उद्योग आउजाउ गर्ने सडक बाटो ढलान-पिच गर्ने र पुराना प्रतिबद्धता लागू गर्ने आश्वासन दिलायो’, उनले भनिन्, ‘अहिले नगरपालिकाको न्यायिक समितिमार्फत छलफलका लागि उद्योगको व्यवस्थापन पक्षलाई बोलाउँदा पनि अटेर गरेको छ ।’
युनाइटेड सिमेन्ट उद्योगले भने उद्योग सरकारले तोकेको मापदण्डमा रहेर सञ्चालनमा रहेको दाबी गरेको छ । स्थानीयबाट गुनासो आएपछि गाउँका र उद्योगका केही व्यक्तिलाई अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेर समस्या पत्ता लगाउने काम गरिरहेको उद्योगका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बताए ।
उद्योगको वातावरणीय प्रदूषण मूल्याङ्कन गर्ने प्रक्रिया थालिएको उनको भनाइ छ । धुलो बढी निस्किएकाले भारतबाट प्राविधिक ल्याएर काम गरिरहेको जनाइएको छ । उनले भने, ‘प्लान्टको एउटा एरियाबाट धुलो बढी निस्किएकाले भारतबाट विज्ञ ल्याएर प्राविधिक जाँच गर्दैछौँ, हाल १० दिनदेखि प्लान्ट बन्द गरेर उद्योगको ‘इक्वीकमेन्ट’ मर्मतको काम भइरहेको छ ।’ वातावरण मन्त्रालयको मापदण्ड पूरा गरेर नै काम गरिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया