छ वटा नयाँ पुलः फेरिएला त दुर्गम मर्चवारको मुहार ?

नेपालखोज २०८० भदौ १५ गते १५:१९

रूपन्देही । विकासका पूर्वाधारबाट पछि परेको रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा ६ वटा नयाँ पुल निर्माण हुने भएका छन्। दानव खोला, तिनाउ खोला, खडवा नाला, र तेलियागढ नहरमा ती पुल निर्माणका लागि आ.व. २०८०/०८१मा १४ करोड ८० लाख बजेट बिनियोजन गरिएको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ।

सडक पूर्वाधार विकास कार्यालय पुल विभाग मणिग्राम रूपन्देहीका इन्जिनियर गोविन्द खड्काले मर्चवार क्षेत्रमा आ.व. २०८०/०८१ मा ६ वटा पक्की पुल निर्माण गर्ने योजनासहित बजेट विनियोजन गरिएको जानकारी दिए । उनले दानव खोला, तिनाउ खोला, खडवा नाला, र तेलियागढ नहरमा नयाँ पुल निर्माण हुने भएको बताए ।

बेलबास–बेथरी–खैरा (मर्चवार) सडक मार्गको तिनाउ खोला र भुँवरी हुँदै भैरहवा–लुम्बिनी सडक सम्पर्क मार्गका लागि कोडहीमाई–५ दुईमोहान घाटस्थित तिनाउ खोलामा पक्की पुलको निर्माणकार्य २०८१ असारसम्म पूरा हुँदैछ भने मायादेवी ५ गोनहा–बसहवा तिनाउ खोला पुलको टेण्डर भएर केही दिनमा निर्माणकार्य शुरु हुने इन्जिनियर खड्काले बताए ।

रूपन्देही जिल्लाको दुर्गम क्षेत्रका रुपमा चिनिने मर्चवारको दानव र तिनाउ लगायतका खोलामा पुल नहुँदा वर्षाका समयमा आवतजावतमै कठिनाइ हुने गरेको सामुदायिक बिपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मीको भनाइ छ। पुल नहुँदा वर्षाका बेला मर्चवारबासीले जोखिमपूर्ण यात्रा गरिरहनुपरेको उनले बताए ।

कोटहीमाई गाउँपालिका २ का बासिन्दाको पीडा कसैसित लुकेको छैन। तीन तर्फबाट दानव र तिनाउ नदीले घेरेको सो वडाका अधिकांश गाउँको जिन्दगी कहालीलाग्दो छ। अध्यक्ष कुर्मीले भने, “गाउँपालिकाको कार्यालय वा नजिकको बजार मझगवा पुग्न जोखिम मोलेर डुङ्गा चढ्नुको विकल्प छैन।” पुल बनेपछि सबै सहज हुने उनले बताए ।

सडक सञ्जाल र पक्की पुलको विकासले मर्चवार मात्र नभइ समग्र जिल्लाको विकासमा टेवा मिल्ने सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले बताए । उनले भने, “अब मर्चवार क्षेत्रका ठूला र साना खोलानालामा पक्की पुल बन्न थालेका छन्। बन्दै गरेका पुलले मर्चवारको यातायात क्षेत्रमा देखिएको सास्ती हट्ने निश्चित छ।”

गाउँपालिका अध्यक्ष श्रीवास्तवका अनुसार सडक र पुलको पहुँचले मर्चवारको आर्थिक तथा सामाजिक विकाससँगै यातायात व्यवसायी र पर्यटक समेतलाई बाटो सहज हुनेछ। पुलको विकासले उत्पादित सामग्रीको बजारीकरणसँगै स्थानीयवासीको शिक्षा, स्वास्थ्य र रोजगार लगायत पर्यटन प्रबर्द्धन जस्ता महत्वपूर्ण पक्षमा सहयोग पुग्ने उनको भनाई छ।

उनले भने, “यसअघि मर्चवार क्षेत्रको तीन गाउँपालिका सम्मरीमाई, मर्चवारी र कोटहीमाइवासीलाई बुद्ध जन्मस्थल लुम्बिनी तथा जिल्ला सदरमुकाम भैरहवाका लागि सहज पहुँच थिएन।” पुल निर्माणका लागि विशेष भूमिका खेलेर सम्पर्क सहज बनाउन लागेको भन्दै श्रीवास्तवले लुम्बिनी प्रदेश सरकार तथा प्रदेश सांसद वसीउद्दीन खाँको प्रशंसा गरे।

लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेश सांसद वसीउद्दीन खाँले तिनाउमा तीन, दानव खोलामा एक, खडवा नालामा एक र तेलियागढ नहरमा एक गरि ६ वटा नयाँ पुल निर्माण गर्ने योजना सहित बजेट बिनियोजन गरिएको बताए। उनले प्रदेश सरकारले ६ तथा संघीय सरकारले एउटा पुल निर्माणका लागि बजेट बिनियोजन गरेको जनाए ।

पूर्व मन्त्री खाँले बेलबास–बेथरी–खैरा सडकमार्गको तिनाउ खोलामा निर्माणधीन पुल बाहेक प्रदेश सरकारको लगानीमा अन्य पुल निर्माणका लागि झण्डै एक अरब बजेट अनुमान गरिएको बताए। उनले भने, “यस बाहेक खुरहुरिया नालामा पुल निर्माणका लागि डिपिआर तथा दानव खोलाको चक्किया घाटमा पुल निर्माणको सर्वे भइसकेको बताए ।

“यसअघि मर्चवारको तीन गाउँपालिकालाई लुम्बिनी सित जोड्नका लागि बनेको एउटा मात्र पुलले समस्या ज्युँका त्युँ थियो।” उनले भने, “सम्मरीमाई गाउँपालिका वडा नं.७ र लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ लम्तिहवा जोड्न अतिआवश्यक पुल निर्माणको प्रयास भइरहेको छ, यति कार्य भयो भने रूपन्देहीको दुर्गम मर्चवारको मुहार फेरिने छ।”

“सडक सञ्जालको पूर्ण विकास गरि गाउँगाउँमा कृषि उत्पादन, पशुपालन र पर्यटकीय चहलपहल बढाउने र गाउँका ताजा उत्पादन सहरसम्म पुर्‍याउने हाम्रो लक्ष्य हो”, पूर्व मन्त्री खाँले भने, “अन्नको भण्डार भनेर चिनिने मर्चवार क्षेत्रलाई अर्थिक रुपले समृद्ध र सहज बनाउने उद्देश्यका साथ अब बाह्रै महिना यातायात अवरुद्ध हुन नदिन हामी लागिपरेका छौ।”

लुम्बिनी प्रदेश सरकारबाट बेलबास–बेथरी–खैरा सडकको तिनाउ खोलामा निर्माणाधीन पुलका लागि ४ करोड, दुईमोहान घाटस्थित तिनाउ खोलामा निर्माणाधीन पुलको लागि ४ करोड, मायादेवी –५ गोनहा–बसहवा स्थित तिनाउ खोलामा पुल निर्माणका लागि ३ करोड ५० लाख, पकडी–पडरहवा दानव नदीमा पुल निर्माणका लागि २ करोड ५० लाख बजेट बिनियोजित छ।

त्यसैगरी कोटहीमाई–५, तेलियागढ चोक नहरमा कलभर्ट पुल निर्माणका लागि ५० लाख, मायादेवी –३ हरनामपुर खडवा नालामा पक्कीपुल डिपिआरका लागि ३० लाख, तथा संघीय सरकारबाट दानव नदी पुल (मर्चवार–लुम्बिनी सम्पर्क सडक अमहवाघाट) डिपिआरका लागि ३७ लाख ६० हजार रुपैयाँ बिनियोजन भएको आ.व.२०८०/०८१ को रातो किताबमा उल्लेख छ। -Ins

प्रतिक्रिया