हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ ।
तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
उनका अनुसार सबै वायुसेवा कम्पनीले पाँच वर्षभित्र जहाजको सङ्ख्या न्यूनतम पाँचवटा पु्र्याउनु पर्नेछ भने यसो गर्न नसक्ने कम्पनी मर्जरमा गए पनि मान्य हुने प्राधिकरणको नीति छ ।
वायुसेवा सञ्चालन गरिरहेका कम्पनीलाई थप जवाफदेही बनाउनुका साथै नयाँ आउने कम्पनीलाई पनि सेवा, शर्त पालना गराउनु प्राधिकरणको उद्देश्य रहेको जनाइएको छ ।
वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक र जिम्मेवार प्राप्त म्यानेजर तथा पोष्ट होल्डरले प्राधिकरण तथा नेपाल सरकारका नीति तथा कार्यविपरीतका क्रियाकलाप सञ्चालन गर्न एवं सो सम्बन्धमा आफ्ना धारणा सार्वजनिकरूपमा व्यक्त गर्न नहुने जनाइएको छ ।

प्रतिक्रिया