गडिगाउँस्थित चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको सो आयोजना आगामी दसैँसम्म सम्पन्न हुने गरी तीव्र काम भइरहेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिईन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धनका इन्जिनियर दिनेश थपलियाले आगामी दसैँको घटस्थपानाका दिनसम्म भए पनि विद्युत्गृहमा बिजुली बाल्ने तयारी भएको जानकारी दिए ।
चुकेनी आयोजनाको प्रगतिबारे जानकारी लिन कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीसहितको टोली शुक्रबार आयोजनास्थलमा पुगेर अनुगमनसमेत गरेको छ ।
सो टोलीलाई निर्माणको जिम्मेवारी पाएको फेवा कन्स्ट्रक्सन प्रालि र वैकल्पिक ऊर्जाको टिमले दसैँसम्म पावरहाउसमा बिजुली बाल्ने गरी काम तीव्रगतिमा भइरहेको जानकारी दिएको छ ।
इन्जिनियर थपलियाका अनुसार आयोजनाको जेनेरेसनको काम ८५ प्रतिशत र लाइन विस्तार गर्ने काम गत आर्थिक वर्षको अन्तिमतिर नै सम्पन्न भइसकेको छ । आयोजनाको बिजुली यहाँका गाउँ–गाउँमा पुग्न अझै एक वर्ष जति समय लाग्ने उनको भनाइ छ ।
अठार महिनाभित्र सकिने आयोजनाको काम कोरोना र अन्य कारणले चार वर्ष पार गरिसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन ।
प्रतिक्रिया