शुक्रबार, जेठ ४, २०८१

श्यामानन्दको सपना : मेरो कलाको सङ्ग्रहालय बनोस्

नेपालखोज २०८० भदौ १७ गते ८:१८

जानकी (बाँके) । कलाकार श्यामानन्द सिंह ठकुरी साहित्य तथा कलाका विविध सिर्जनामा व्यस्त छन् । ६९ वर्षीय उनको इच्छा आफूले सिर्जना चित्रकला र हस्तकलाको सङ्ग्रहालय बनाउने रहेको छ । उनले फालिएका सामानबाट चित्रकला र हस्तकलाका थुप्रै कलाकृति निर्माण गरेका छन् ।

यस्तो कलाकृति बनाउने उनी लुम्बिनी प्रदेशकै पहिलो चित्रकार हुन् । उनी काम नलाग्ने भनेर फ्याँकिएका कागज, कार्टुन, बोतल, प्लास्टिक, काठका टुक्रा, म्याद सकिएका औषधि, कपास, धागो जस्ता थुप्रै वस्तुलाई सङ्गालेर हेर्न लायक कलाको आर्कषक रुप बनाए ।

कलाकार ठकुरीले बनाएका हस्तकला अन्तर्गत चरा, मादल, रिक्सा, टाँगा, धरहरा, बन्दुक, ओखल, विभिन्न देवीदेवताका मूर्ति, गाग्रो, कर्णाली पुल, विभिन्न मठमन्दिरलगायत देशलाई चिनाउने सबै खालका सामग्री बनेका छन् । ती सबै सामग्रीलाई उनले आफ्नो दुई तले घरको सबै कोठामा भरिभराउ गरी सजाएर राखेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–९ स्थित बाँकेगाउँको सरस्वती टोलमा बस्दै आएका ठकुरीले नेपाल टेलिकमको जागिरबाट अवकास पाएपछि सानैदेखिको हस्तकलाको रुचिलाई निरन्तरता दिन सुरु गर्नुभएको हो । २०७० बाट हस्तकलाको सामग्री बनाउन सुरु गर्नुभएका उहाँले चित्रकलालाई पनि सँगसँगै लिएर अघि बढ्नुभयो ।

कागजको डुङ्गा, कागजको फूल अनि कागजकै पुल हेर्दा लाग्छ वास्तविक नै हुन् । चित्रकला र हस्तकला प्रदर्शनी र पुरस्कारले नै जीवनको परिभाषा बनाउन सफल हुनुभएका उहाँको एउटै ईच्छा छ उहाँको घरमा भएका सामग्रीलाई स्थानीय सरकारले सङ्ग्रहालय बनाएर त्यहाँ सजाएको हेर्ने । यो विषयमा उहाँले नेपालगञ्जका पूर्व मेयर धवल शमशेर राणा र वर्तमान मेयर प्रशान्त विष्टसँग प्रस्ताव राखिसकेको पनि बताउनुभयो । “मेरा कलाकृतिलाई सङ्ग्रहालय बनाएर त्यसैमा राखिदिनु प¥र्यो भनेर मैले पूर्व प्रमुख र वर्तमान प्रमुख दुवैलाई भनिसकेको छु. । उहाँहरुले हुन्छ भन्नुभएको छ । ” कलाकार ठकुरीले भन्नुभयो,“आशा छ म मर्नुअघि मेरो कलाकृतिलाई सङ्ग्रहालयमा देखेर मर्नेछु ।” उहाँले फालिएका वस्तुबाटै अवधि लोककला चित्रकला तर्फ धार्मिक सांस्कृतिक, सामाजिक पारम्परिक संस्कृति जस्तैः रक्षाबन्धन, भैयादुज, दीपावली, विवाह, रामलीला दशहरा चित्र, ढेरीपुजन, लडिया सवारी, नागपञ्चमी, करवाचौथ आदि बनाउनुभएको छ । फालिएका सामग्रीबाट आँखालाई नै झुक्याउने सामग्री बनाउन सक्ने क्षमताका उहाँको घरमा कम्तीमा पनि पाँच सयको हाराहारीमा हस्तकलाको सामग्री छन् भने सोही संख्यामा चित्रकलाका पेटिङ्ग छन् । उहाँको पहिलो एकल चित्रकला प्रदर्शनी विसं २०५० ललितकला संस्था (नाफा) नेपालगञ्जमा भएको थियो ।

त्यसैगरी २०५९ र ६० सालमा महेन्द्र पुस्तकालय नेपालगञ्जमा एकल चित्रकला तथा हस्तकला प्रदर्शनी भएको थियो । २०६६ मा नेपालगञ्जमै उहाँको एकल प्रदर्शनी भएको थियो । त्यसैगरी २०७० मा नेपाल ललितकला तथा प्रज्ञाप्रतिष्ठानको संयोजनमा उहाँको चित्रकला तथा हस्तकला प्रदर्शनी नेपालगञ्जमै भएको थियो ।

उहाँले २०७२ सालमा सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट क्षेत्रीय पुरस्कार प्राप्त गर्नुभएको थियो । नगरप्रमुख विष्टले नेपालगञ्जको टाँगा स्टेशन अगाडि बन्दै गरेको सपिङ कम्प्लेक्सको भवनमा कलाकार ठकुरीको कलाकृतिलाई सङ्ग्रहालय बनाउने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “टाँगा स्टेशनको अगाडि नगरपालिकाको सपिङ कम्प्लेक्स बन्दै छ उहाँको चित्रकला र हस्तकलाका सबै सामग्रीलाई त्यही सङ्ग्रहालय बनाउने योजना छ ।” सिंहको कलाकृति अवलोकन गर्नका लागि बाँकेका सबै विद्यालय र कलेजका विद्यार्थी उहाँको घरमा रहेको सङ्ग्रहालयमा आउने गर्दछन् ।

प्रतिक्रिया