शुक्रबार, पुष ४, २०८२

प्लास्टिक प्रदुषण सम्झौताका लागि विश्व सकारात्मक दिशामा : संयुक्त राष्ट्रसङ्घ

नेपालखोज २०८० भदौ २० गते ६:१७

काठमाडाैं । संयुक्त राष्ट्रसङ्घले प्लास्टिक प्रदुषण सङ्कटसँग जुध्न बाध्यकारी सन्धिको पहिलो मस्यौदा सार्वजनिक गरेसँगै विश्वले प्लास्टिक प्रदुषण नियन्त्रणको दिशामा एक कदम अगाडि बढेको छ । सन् २०२४ को अन्त्यसम्ममा विश्वका १७५ देशले समुद्र, चराचुरुङ्गीको पेट र हिमालको चुचुरोमा हुने प्लास्टिक प्रदूषणलाई नियन्त्रण गर्ने ऐतिहासिक सम्झौतामा पुग्ने गरी काम गरिरहेका छन् ।

पछिल्ला बर्षहरूमा रगत र आमाको दूधमा समेत माइक्रोप्लास्टिक्स भेटिएको छ । शताब्दीको सुरुदेखि नै विश्वव्यापी प्लास्टिक उत्पादन दोब्बरभन्दा बढी बढेर ४६ करोड टन पुगेको छ र केही नगरे सन् २०६० सम्ममा यो तीन गुणाले बढ्न सक्छ । अहिले नौ प्रतिशत मात्रै रिसाइकल भइरहेको छ । अन्तरसरकारी वार्ता समितिले प्रकाशित गरेको सम्झौताको मस्यौदा केन्याको राजधानी नैरोबीमा नोभेम्बर १३ र १९ मा हुने नयाँ वार्ताको आधार बन्ने संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले जनाएको छ ।

यी प्रस्तावहरूमा प्राथमिक प्लास्टिक पोलिमरको उत्पादन घटाउने समावेश छ, जुन गैरसरकारी संस्थाहरूले वर्षौंदेखि वकालत गर्दै आएका छन् । संयुक्त राज्य अमेरिका र खाडी देशहरू जस्ता प्रमुख प्लास्टिक उत्पादकहरूले यस उपायको कडा विरोध गर्न सक्दछन् । उनीहरू फोहर कम गर्न पुनः प्रयोग र रिसाइक्लिङलाई बढावा दिन रुचाउँछन्।

उता एक अर्को समाचार अनुसार अमेरिकी जलवायु दूत जोन केरीले केन्यामा आयोजना हुने ऐतिहासिक शिखर सम्मेलनमा वासिङ्टन र बेइजिङले ग्लोबल वार्मिङविरुद्धको लडाइँमा ‘एकसाथ आउन सक्ने’ आशा व्यक्त गरेका छन् ।

अफ्रिका जलवायु शिखर सम्मेलनले यस वर्षको अन्त्यमा दुबईमा कोप २८ बैठक अघि १।४ अर्ब जनसङ्ख्या भएको महाद्वीपमा हरित विकासको लागि साझा दृष्टिकोण परिभाषित गर्ने लक्ष्यका साथ अफ्रिकी नेताहरूलाई समान धारणा बनाउने अवसर दिएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुखले संयुक्त राज्य अमेरिका र चीनलाई आफ्ना मतभेदहरूलाई अलग राख्न र जलवायु परिवर्तनमा समान धारणा बनाउन दवाब दिएपछि केरीको टिप्पणी आएको हो ।

प्रतिक्रिया