भर्याङ भुरुङको पुल

सुनिल उलक २०८० भदौ २२ गते ९:३७

धादिङ । धादिङको भर्याङ भुरुङमा रहेको झोलुङ्गे पुल पनि शुरुवाती कालमा हार्पर एण्ड कम्पनीले बनाएको सात वटा आधुनिक झोलुङ्गे पुलहरु मध्यको एक हो ।

सो समय काठमाडौबाट गोरखा तथा पोखरासम्म हिडेरै जाँदा यो पुलको महत्व धेरै नै थियो । तर पछि सडक सञ्जालले जोडिएर गाडी गुड्न थालेपछि यो पुलको महत्व कम हुँदै गयो ।

हार्पर एण्ड कम्पनीले सो समय उत्पादन गर्ने बिशेष किसिमको ग्याल्बनाइज्ड केवल तार सबैभन्दा बलियो थियो । सो तारमा सम्पूर्ण पुलको संरचना अडिएको हुन्थ्यो ।

११० वर्ष भन्दा अगाडि नेपालमा बनेका यस प्रकारका आधुनिक झोलुङ्गे पुलहरु अझै पनि भेटिन्छन् । केही पुलहरु भने अप्रत्यासित बाढी आउँदा बगाएर लगे पनि कतिपय झोलुङ्गे पुलहरु आज पनि देख्न र हिड्न सकिने अवस्थामा नै छन् ।

हार्पर एण्ड कम्पनीबाट उत्पादित सामग्रीले बनेका झोलुङ्गे पुलहरु स्कटल्याण्डमा हाल उस्तै स्वरुपमा पुनर्निर्माण गर्न थालिएको छ । त्यहाँको सरकारले हार्पर एण्ड कम्पनीसंग समन्वय गरेर पुलहरुलाई सय वर्ष भन्दा अगाडिको अवस्थामा नै पुनर्निर्माण गरेका छन् ।

यस कार्यमा सो कम्पनीका तत्कालिन मालिक रहेका लुइस हार्परका नाति डगलस हार्पर नै लागिपरेका छन् । नेपालमा रहेका यस प्रकारका सय वर्ष भन्दा पुराना पुलहरुलाई पनि इतिहास जोगाउने ध्येयले पनि पुलहरु पुनर्निर्माण गर्न पहल गर्नु अति आवश्यक छ ।

यहि सोचमा पुराना पुलहरुको तस्विर राख्ने क्रममा बिदुर नगरपालिका वडा नं १ मा रहेको त्रिशुली नदि माथि बनेको झोलुङ्गे पुलको तस्विर पनि राखेको थिए ।

वि.सं १९५७ मा बनेको पुरानो पुल वि.सं २०१९ सालमा त्रिशूली नदिमा आएको भयावह बाढीले बगाएको थियो । यसरी पुल बगाएर आवतजावतमा समस्या आएपछि वि.सं २०२० सालमा राजा महेन्द्रले सो पुल रहेको स्थान नजिकै नयाँ पुल बनाइदिएका थिए ।

यहाँ राखिएको यो झोलुङ्गे पुल धादिङ जिल्लामा रहेको भर्याङ भुरुङको पुल हो । नुवाकोट तथा धादिङको सिमामा रहेको भर्याङ भुरुङ खोलामा बनेको यो पुलको बारेमा त्यहाँका स्थानियबाट नै बिशेष जानकारी पाउन सकिएला ।

मैले पाएको जानकारी अनुसार सो पुल अझै पनि खडा नै छ । संरचना कमजोर भए पनि मानिस आवतजावत गर्न मिल्छ । हार्पर एण्ड कम्पनीले बनाएका सातैवटा पुलहरुको तस्विर डगलस हार्परबाट नै प्राप्त भएको हो ।

प्रतिक्रिया