बुधबार, असार ११, २०८२

सीटीईभीटीको परीक्षा तत्काल सञ्चालन गर्न सम्झदारी भएको छ : मन्त्री राई

नेपालखोज २०८० भदौ २२ गते १८:०४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को परीक्षा तत्काल सञ्चालन गर्ने समझदारी जुटेको बताएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री राईले सीटीईभीटीको परीक्षा तत्काल सञ्चालन गर्न मन्त्रालय, चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच समझदारी भएको जानकारी दिएका हुन् ।

बैठकमा उनले आवश्यकताअनुसार ऐन कानूनलाई संशोधन गर्नुपर्नेमा जोड दिँदै आयोग र परिषद्का पदाधिकारीलाई कानूनको कार्यान्वयनमा रचनात्मकरूपमा जिम्मेवार बन्नसमेत आग्रह गरे । बैठकमा मन्त्री राईले चिकित्सा शिक्षा ऐन कार्यान्वयन गर्ने सिलसिलामा आयोगले राम्रो काम गरे पनि सङ्ख्या अभिवृद्धिमा लचिलो बन्न सुझाव दिए ।

उनले आवश्यकताअनुसार स्वास्थ्यसम्बन्धी जनशक्ति उत्पादन गर्न नसक्नु मानव संसाधन योजनाको कमजोरी भएको स्वीकार गर्दै सही तथ्याङ्कको सङ्कलनबाट आवश्यक जनशक्तिको प्रतिवेदन तयार गर्दै छिट्टै संसद्मा प्रस्तुत गर्ने प्रतिबद्धता गरे ।

चिकित्सा शिक्षाको गुणस्तर सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का पदाधिकारीसँग समितिका सदस्यले छलफल गरे । बैठकमा उक्त विषयमा निर्देशनसहितको निष्कर्षका लागि समितिले कार्यदल गठन गर्न सैद्धान्तिक सहमति जुटेको छ ।

प्रतिक्रिया