ककनीको बाँझो जग्गामा चिया खेती सुरु

त्रिशूली । पर्यटकीय गन्तव्यको रुपमा रहेको नुवाकोटको ककनी गाँउपालिका–५ ककनी हाइटको बाँझोे जग्गामा व्यावसायिक रुपमा चिया खेती सुरु गरिएको छ । नेपाल पर्वतारोहण सङ्घले भोगाधिकारको लागि सरकारसँग ‘लिज’ मा लिएको भए पनि लामो समयदेखि उपभोग विहीन रहेको बाँझो जग्गामा आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चिया रोपण अभियानको शुभारम्भ गरेका छन् ।
ककनी ‘पिकनिक स्पट’ को रुपमा परिचित उक्त स्थानमा सुरु गरिएको चिया रोपणले पर्यटकीय सम्भावना बोकेका ककनीको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने मन्त्री किरातीले विश्वास व्यक्त गरे । ‘नुवाकोटको ककनी र नगरकोट सुन्दा उस्तै लाग्छ । त्यति मात्रै होइन भौगोलिक दृष्टिकोण, राजधानी नजिकैको उच्च भूभाग, ‘एग्रो एण्ड नेचुरल टुरिजम’ को लागि दुवै स्थान समान हैसियतमा छन् ।’
मन्त्री किरातीले भने, ‘ककनीमा पर्यटकीय गतिविधि चलायमान बनाउन सरोकारवालाबाट माग भएर आउने प्रस्तावनामा सरकारको तर्फबाट आवश्यक सहयोगको सुनिश्चित गरेर ककनीलाई नगरकोट सरह बनाउन प्रतिबद्ध हुनेछौँ ।’ चिया रोपण कार्यक्रममा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले ककनीमा पर्यटकीय योजना बनाउन केन्द्रीय सरकारबाट आश्वासन पाउने तर, सम्बोधन नहुने गुनासो गरे । ‘ककनी भन्ने वित्तिकै घुम्ने ठाँउभन्दा काठमाडौँको फोहर फाल्ने थलो भनेर गलत प्रचार भइरहेको छ । त्यसको अन्त्य गर्न पर्यटन मन्त्रालयबाट विशेष पहल हुनुपर्छ ।’
पर्यटकीय आकर्षण थलो ककनी हाइटमा विसं २०५२ मा नेपाल पर्वतारोहण सङ्घले सरकारसँग भोगाधिकार लिएको एक सय ४२ रोपनी जग्गा हालसम्म उपभोगविहीन भएपछि ककनी गाँउपालिकाले ‘पर्यटन प्रवर्द्धन तथा हारियाली चिया बगान निर्माण’ का लागि चिया रोपण अभियान सुरु गरेको हो । गाउँपालिकाको अध्यक्ष सुमन तामाङको अनुसार शुक्रबार १३ रोपनी जग्गामा पाँच हजार दुई सय बिरुवा रोपिएको छ ।

प्रतिक्रिया