मर्मत र सरसफाइपछि रौतहटसम्म पुग्यो गण्डक नहरको पानी

नेपालखोज २०८० भदौ २३ गते १७:३१

कलैया । क्षतिग्रस्त संरचनाको मर्मतसम्भार र सरसफाइपछि गण्डक नहरको पानी रौतहटसम्म पुग्न थालेको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जले पर्सा, बारा तथा रौतहटसम्मको ८१ किमी लम्बाइको नहर सरसफाइ तथा मर्मतसम्भार गरेपछि सिँचाइ सुविधा पुर्याइएको हो ।

नहरमा पानी उपलब्ध भएपछि सिँचाइको सुविधा उपलब्ध भएको छ । पर्सादेखि रौतहटसम्म १५ वटा ब्लक रहेको नहरको सम्पूर्ण ब्लकमा पानी पुगेको कार्यालयले जानकारी दिएको छ ।

विगतमा ११ नं ब्लक बारासम्म मात्र नहरको पानी आउने गरेको थियो । कार्यालयले नहरको सरसफाइका साथै प्राविधिक निर्माण आफ्नै स्रोतसाधनबाट गरेको थियो भने मर्मतसम्भार भारतीय पक्षबाट गरिएको कार्यालयका प्रमुख मनोरञ्जनकुमार सिंहले जानकारी दिए ।

कार्यालयका अनुसार पर्सास्थित नेपाल–भारत सीमाभन्दा करिब २७ किमी पश्चिम भारतीय क्षेत्रको घोडहरा र कटरा नदी एकै स्थानमा मिसिएर बाढी आउँदा नहरको मूल संरचना करिब एक सय फिट बगाएको थियो । त्यसपछि नहरमा उक्त नदीको बाढी पसेको र नेपालमा पानी आउन छोडेको थियो ।

गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन जिल्लामा गरी ३७ हजार चार सय हेक्टर जमिन सिँचाइ सुविधा उपलब्ध भएको छ ।

प्रतिक्रिया