लालबन्दीबाट एक महिनामा १४ करोडको तरकारी निकासी

सर्लाही । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा १४ करोडभन्दा बढीको तरकारी निकासी गरेको छ ।
लालबन्दी नगरपालिका–७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आव २०८०-८१ को पहिलो महिना साउनमा १४ करोड ३९ लाख ६१ हजार छ सय ५० बराबरको तरकारी निकासी गरेको समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार आव २०८०-८१ को पहिलो महिना साउनमा दुई करोड ८९ लाख नौ हजार छ सय किलो तरकारीबाट १४ करोड ३९ लाख ६१ हजार छ सय ५० बराबरको तरकारी निकास भएको हो ।
जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिए ।
उनका अनुसार सिन्धुली, रामेछाप, काठमाडौं, पोखरा, बुटवल, भैरहवा, नारायणघाट, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको छ ।

प्रतिक्रिया