अवैध लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय २० मिलिग्रामसहित सोही नगरपालिका–३ मोतिपुर बस्ने २५ वर्षीय हरिश रेग्मीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०३ ००१ प ०४५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक हरिशलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४७ ग्राम ८५ मिलिग्रामसहित सोही नगरपालिका–१० शिवनगर बस्ने २६ वर्षीय हिक्मत हमाललाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ वालुवाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय ३० मिलिग्रामसहित सोही नगरपालिका–१ बस्ने २१ वर्षीय सन्जीव चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगी शान्ति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–९ बस्ने १९ वर्षीय अशोक नेम्वाङ र सोही नगरपालिका–१० खयरडाँगी बस्ने ३० वर्षीया दिपा चौधरी रहेका छन् ।
लागूऔषध विक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले अशोकलाई २ सय मिलिग्राम उक्त पदार्थ तथा नगद ४ हजार रूपैयाँसहित र दिपालाई १ ग्राम ५ सय ५० मिलिग्राम उक्त पदार्थ तथा ३ हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयाबाट अवैध लागूऔषध गाँजा करिब ५० केजीसहित कैलाश गाउँपालिका–१ जल्की बस्ने ३५ वर्षीय गणेश थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले सडक छेउमा रोकी राखेको बा.६ च १८४७ नम्बरको कारलाई जाँच गर्दा उक्त गाँजासहित फेला पारी कार चालक थापालाई पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया