सोमबार, वैशाख १७, २०८१

पर्यटकको आकर्षण बन्दै रोला झरना

नेपालखोज २०८० भदौ २५ गते ६:४७

गण्डकी । पोखरा महानगरपालिका–२८ स्थित माझठानाको रोला झरनामा यतिखेर आन्तरिक पर्यटकको आकर्षण बढेको छ । जङ्गलकोबीच भागमा रहेको मनोरम झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ । पैसठ्ठी मिटर अग्लो झरनाको दृश्यावलोक गर्ने, दहमा पौडी खेल्दै रमाउने र शीतलताको अनुभूति गर्ने पर्यटकको दैनिकजसो भीड लाग्ने गरेको स्थानीय सूर्यमोहन बाँस्तोलाले जानकारी दिए। उनका अनुसार सुगमस्थान एवं प्रचुर सम्भावना रहेर पनि झरनापछि परेको अवस्थालाई दृष्टिगत गर्दै यसको संरक्षण र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय पहल महत्वपूर्ण बनेको छ ।

यसअघि विसं २०७३ मा स्थानीयको पहलमा नेटाबाट झरनासम्म पुग्ने मोटरबाटो निर्माण गरिएसँगै रोला झरना प्रचारप्रसारमा आएको हो । झरनासम्म पुग्न कच्ची मोटरबाटो निर्माण भएसँगै विगतका वर्षहरुमा ट्रिप लङ प्रालिले सहासिक खेल क्यानोनिङ सञ्चालन गर्दा थप आकर्षण बढेको उनको भनाइ छ । तर दुई वर्षयता क्यानोनिङ सञ्चालन भएको छैन । पर्यटक बढाउन झरनामा पर्यटकीय गतिविधि सञ्चालन गर्नु अपरिहार्य बनेको उनको भनाइ छ ।

झरनामा रमाउन पुग्ने पर्यटकलाई तात्कालीन सुविधा पु¥याउने लक्ष्यका साथ पोखरा महानगरपालिका वडा नं. २८ ले दुई वर्षअघि चेन्जिङरुम र शौचालय निर्माण गरेको थियो । लायन्स क्लब अफ पोखराको ६२ हजार र नेपाल लायन्स फाउण्डेशनको ५० हजार गरी कूल एक लाख १२ हजारको लागतमा रोला झरनामा ट्रष्ट प्रतिक्षालय निर्माण गरिएको लायन्स इन्टरनेशनल डिष्टिक ३२५ ‘के’ का जोन चियरपर्सन भोला ओझाले जानकारी दिए ।

झरनाको ५०/६० मिटरको फरकमा पूर्वउत्तरमा ढोडेली झरना छ भने सो पानी एकीकृत भएर केही तल्लो भागमा निलिरह जुम्ल्याहा झरना पनि छ । कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङसहितको एक टोलीले उक्त झरनाको स्थलगत अध्ययन अवलोकन गरी प्राकृतिक स्रोतको भरपुर उपयोग गरी स्थानीय बासिन्दाको आयआर्जनमा सहयोग पुग्नेमा जोड दिएको छ । सांसद गुरुङले पर्यटकीय नगरी पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्यकारुपमा विकास गर्नका लागि गुरुयोजना निर्माण गरेर आवश्यक भौतिक संरचना निर्माणमा तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

झरनासम्म बाटोको सुविधा, पानी पर्दा ओत बस्ने ठाउँ लगायतका विभिन्न अत्यावश्यक भौतिक संरचना तयार गरेर आन्तरिक एवम् बाह्य पर्यटकलाई सुविधा पु¥याउनु तत्काल पहल गरिने उनको प्रतिबद्धता थियो । स्थानीय हरिप्रसाद बाँस्तोलाका अनुसार बेगनास तालको जलाधार क्षेत्रका रुपमा रहेको स्याङखुदीदेखि चण्डीखोलाको निलिरहका झरनासम्म मोटर बाटो निर्माण गरी त्यसभन्दा करिब एक सय मिटरमा अवस्थित रोला र ढोडेली झरनासम्म पैदलमार्ग निर्माण गर्ने हो भने एक दिनको प्याकेज बनाउने सकिन्छ । यसले पर्यटकको बसाइँ लम्व्याउन सहयोग पुग्ने उनको विश्वास छ ।

पृथ्वीराजमार्गको तालचोकदेखि बेगनासताल खण्डको शिशुवा तथा मोहोरीयाबाट बेगनासताल, खास्टेताल, मैदीताल, रुपाताललाई नियाल्दै लामास्वारा, स्याङखुदीबाट बाँस्तोला गाउँको नेटा हुँदै उक्त झरनासम्म पुग्न सकिन्छ ।

प्रतिक्रिया