सर्वसाधारणको मनोबल बढाउने नीति ल्याए अर्थतन्त्रको समस्या कम हुन्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सर्वसाधरणको मनोबल बढाउने नीति ल्याए अर्थतन्त्रमा देखिएका समस्या कम हुने बताएका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले सरकार र नियमनकारी निकायले उद्योगी व्यवसायी र जनतालाई आत्मविश्वास बढाउने नीति ल्याएर अर्थतन्त्रका वर्तमान समस्या समाधानतर्फ उन्मुख हुने बताए ।
पछिल्लो समय सरकार नियमकारी निकायले निजी क्षेत्रले उठाउँदै आएका समस्या र मागका विषयमा बेवास्ता गर्दा अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ छ । अध्यक्ष ढकालले सरकारले उद्योगी व्यवसायी र जनतालाई सकारात्मक बनाउने गरी नीति नल्याएसम्म अर्थतन्त्रमा समस्या समाधान हुन नसक्ने दाबी गरे ।
उनले नियमनकारी निकाय राष्ट्र बैंकले मौद्रिक नीति र सरकारले बजेटमा निजी क्षेत्रको माग सम्बोधन गर्न नसक्दा अर्थतन्त्रमा प्रभाव परेको धारणा राखे । अध्यक्ष ढकालले निजी क्षेत्रका तीनवटा संस्थाले सरकारले ल्याउने बजेट र मौद्रिक नीतिमा एउटै स्वरमा सुझाव दिँदासमेत कार्यान्वयनमा आउन नसक्नु भनेको सरकारको निजी क्षेत्रलाई हेर्नु दृष्टिकोण सकारत्मक नहुनु भएको बताए ।
अध्यक्ष ढकालले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक सङ्केत देखिएको बताए । उनले रेमिट्यान्स, पर्यटन आगमन र बैंकिङ तरलतामा सहजता आएको बताए । उनले अर्थतन्त्रका आयाममा सकारात्मक सङ्केत देखिएको भन्दै सरकारले सबैको मनोबल उच्च बनाउने गरी नीतिहरु ल्याउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया