चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल

नेपालखोज २०८० भदौ २८ गते १६:५१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने जानकारी दिए ।

नेपाल चिकित्सक सङ्घको आज ज्ञापनपत्र बुझ्दै उनले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको सङ्घका उपाध्यक्ष डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले सार्वजनिकस्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई जो कोहीलाई उन्मुक्ति नदिने बताएको उनले जानकारी दिए ।

सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ ।

यही भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो ।

डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’ गरिएको र उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए ।

प्रतिक्रिया