बुधबार, फागुन ९, २०८०

स्वीस क्याथोलिक चर्चमा यौन दुर्व्यवहारका एक हजार घटना

नेपालखोज २०८० भदौ २८ गते १८:०१

स्विट्जरल्याण्ड । इतिहासकारहरूले स्विट्जरल्याण्डको क्याथोलिक चर्चहरूमा यौन दुर्व्यवहारका एक हजार भन्दा बढी घटना पत्ता लगाएका छन् । यो शुरुवात भएको र यसको संख्या अझ बढ्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । यी घटनाका आरोपी चर्चका अधिकारी तथा पास्टरहरू छन् ।

स्विट्जरल्याण्डमा क्याथोलिक पादरी तथा अन्य मानिसहरूद्वारा यौन दुर्व्यवहारका बारेमा गरिएको अनुसन्धानले डरलाग्दो नतिजा देखाएको बताइन्छ । एक वर्षको अध्ययनपछि ज्युरिच विश्वविद्यालयको समुहले १००० भन्दा बढी मानिसमाथि यौन शोषण भएको जानकारी दिएको छ । यी घटना २० औं शताब्दीको मध्यका हुन्।

पछिल्लो समय जर्मनी, इटाली र फ्रान्सबाट पनि यौन शोषणका यस्ता रिपोर्ट आएका छन् । यी इयु देशहरूमा यस्तो राष्ट्रिय रिपोर्टले पीडितहरूका लागि क्षतिपूर्ति र अपमानजनक विशपहरू, कार्डिनलहरू र धार्मिक अधिकारीहरूलाई सजायको माग निम्त्याएको छ।

बढ्दो यौन शोषणका घटना

यो प्रतिवेदन विशपहरूको स्विस सम्मेलनले तयार पारेको हो। जुरिच विश्वविद्यालयका दुई इतिहासकार मोनिका डोमन र मारिटा मेयरले यो अनुसन्धान गरेका हुन् । यो जानकारी चर्चका पुराना कागजातहरू मार्फत सङ्कलन गरिएको थियो। अनुसन्धानमा इतिहासकारहरूले करिब ५१० अभियुक्त र ९२१ पीडितको पहिचान गरे। पीडितमध्ये ३९ प्रतिशत महिला, ५६ प्रतिशत पुरुष र ५ प्रतिशत लिंग निर्धारण गर्न नसकिने व्यक्ति छन् ।

मोनिका डोमन भन्छिन् – यो केस हेर्दा, हामीलाई यी प्रारम्भिक तथ्याङ्क मात्र हुन् जस्तो लाग्छ। यी अपराधहरू कत्तिको क्रूर छन् भन्ने कुरा हेरेपछि हामीलाई धेरै थोरै मुद्दा मात्र रिपोर्ट गरिएको हुन्थ्यो जस्तो लाग्छ। अनुसन्धानका क्रममा धेरै कागजात हेर्न बाँकी छ । मोनिकाको विश्वासमा क्याथोलिक चर्चले धेरै अपराधहरू दबाएको छ र सम्बन्धित कागजातहरू नष्ट गरेको छ।

अपराधीहरूमध्ये अधिकांश स्विजरल्याण्डका क्याथोलिक पादरीहरू, चर्चका कर्मचारीहरू र धार्मिक समूहहरू थिए। उजुरीहरू छानबिन हुन नदिन दोषीहरूलाई अन्य जिल्लाका चर्चहरूमा पठाइन्थ्यो । अनुसन्धान भन्छ – क्याथोलिक चर्चले समाजको कल्याण भन्दा माथि आफ्नै मानिसहरूको कल्याणलाई प्राथमिकतामा राखेको बुझिन्छ ।

ठूलो प्रतिवेदन तयारी

यसमा थप कागजात हेर्ने गरी ठूलो प्रतिवेदन तयार गर्ने प्रयास भैरहेको छ । स्वीस सरकारले पनि यी गुनासाहरूलाई दबाउने प्रयास गरिएको थियो कि थिएन त्यो पनि हेर्ने छ। २०२६ सम्म अनुसन्धान गर्न यो समुहलाई लगभग १७ लाख अमेरिकी डलर प्रदान गरिनेछ।

अनुसन्धान समुहले यी आरोपहरू पहिचान गर्न तथा कागजातहरू हेर्न होली सी, भ्याटिकनको दूतावासबाट अनुमति मागेको थियो तर त्यसलाइ अस्वीकार गरियो । अनुसन्धान समूहकि अध्यक्षले पत्रकारहरु लाइ भनिन् – आज पोपले यस्तो आरोपको छानबिन गर्न चाहेको कुरा त बताउँछन् तर कागजात भने हेर्न पनि दिइरहेका छैनन्।

स्रोत : डीपीए / एपी

प्रतिक्रिया