शुक्रबार, फागुन ११, २०८०

राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्छ : महामन्त्री थापा

नेपालखोज २०८० भदौ ३० गते १९:३३

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिए । आज शिखा प्रकाशनबाट प्रकाशित विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ (१९६२–१९६८) को लोकार्पण कार्यक्रममा उहाँले कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीले उल्लेख गरेअनुसार नैतिक सत्ता पछिल्लो राजनीतिमा भएकामा आशङ्कासमेत व्यक्त गरे ।

उनले विपीले उक्त डायरीमा समाजवादको विषयबारे महत्त्वपूर्ण तरिकाले उल्लेख गरेको बताए । ‘यो पुस्तक कांग्रेस भएर महामानव (विपी)को डायरी पढ्दैछु भन्ने होइन, मान्छे भएर मान्छेको डायरी पढ्दै छु भन्यो भने चाहिँ यसबाट धेरै कुरा सिक्न सकिन्छ’, उनले पाठकलाई सुझाव दिँदै भने । कांग्रेसका महामन्त्री थापाले विपीले अध्ययन गरेका वा उनले सिफारिस गरेका पुस्तकसमेत सङ्कलन गर्नुपर्ने बताए । यस्तै विपीले पढेका साहित्यमा उनी स्वयंले गरेका समालोचना, पुस्तक, लेखलाई सन्दर्भ सामग्रीका रूपमा सङ्कलन गर्नुपर्नेमा थापाले जोड दिए ।

लोर्कापण कार्यक्रममा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री राम कार्कीले पुस्तकको समीक्षा गर्दै विपीद्वारा स्थापित राजनीतिक मानकलाई कसैले तोड्न नसकेको बताए । समाजवादको सविस्तारदेखि विपीका विभिन्न पाटोमा विरोधाषपूर्ण पाटो पुस्तकमा पढ्न सकिने एमाले उपमहासचिव ज्ञवालीले बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभागका प्रमुख मीन विश्वकर्माले आफू विपीको लेखबाट प्रभावित भएर पार्टी प्रवेश गरेको स्मरण गर्दै यस पुस्तकमा विपीले जेलमा आफ्नो दैनिकी, देशको राजनीतिक र उहाँ स्वयंको मनोविज्ञानको प्रसङ्ग समेटनुभएको बताए ।

यस्तै अर्का केन्द्रीय सदस्य प्रतिमा गौतमले विपीका विभिन्न विधामा वैचारिक बहस गनुपर्नेमा जोड दिए । प्राडा कृष्ण खनालले विपीको जेल डायरीमा जीवन्तता पाइने बताए । विपीमाथिको भ्रमलाई यस पुस्तकले तोड्ने उनको भनाइ छ ।

प्रतिक्रिया