सोमबार, फागुन १४, २०८०

एसिया कप फाइनलमा आज भारत र श्रीलंका भिड्दै

नेपालखोज २०८० भदौ ३१ गते ८:११

काठमाडाैं । एसिया कप २०२३ को फाइनलमा आज भारत र श्रीलंका भिड्दै छन् । भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् । बिहीबार राती निर्णायक खेलमा श्रीलंकाले पाकिस्तानलाई २ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

सुपर फोरमा भारतले पाकिस्तानलाई २ सय २८ रन तथा श्रीलंकालाई ४१ रनले हराएको थियो । सुपर फोरको अन्तिम खेलमा बंगलादेशले भारतलाइ पराजित गरेको थियो । यद्यपि उक्त खेल प्रतिष्ठाको खेल मात्र थियो किनभने बंगलादेश पहिले नै सुपर फोरबाट बाहिरिसकेको थियो भने भारत फाइनलमा पुगिसकेको थियो ।

भारत २ खेलमा ४ अंकका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा रहयो । उता श्रीलंकाले बंगलादेशलाई २१ रनले हराएको थियो । भारतसँग हार्दा फाइनलमा पुग्न निर्णायक खेलमा श्रीलंकाले पाकिस्तानलाई हराएको थियो । पाकिस्तान ३ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको छ । बंगलादेश भारतविरुद्धको एक खेलमा बिजयी भएको छ । ६ वटा देसको सहभागीता रहेको एसिया कप क्रीकेटमा नेपाल र अफगानिस्तान पहिलो चरणबाट बाहिरिदै सुपर फोरमा पुग्न असमर्थ रहे ।

साविक विजेता श्रीलंका एसिया कप क्रिकेटमा १२ औं पटक फाइनलमा पुगेको हो । भारत १० औं पटक फाइनल पुग्दा पाकिस्तान पाँच र बंगलादेश तीन पटक फाइनलमा पुगेका छन् । भारतले सर्वाधिक ७ र श्रीलंकाले ६ पटक एसिया कपको उपाधि जितेका छन् । पाकिस्तानले दुई पटक एसिया कपको उपाधि जितेको छ ।

प्रतिक्रिया