बुधबार, फागुन ९, २०८०

सहश्रब्दी विकास लक्ष्य हासिल गर्न नेपालले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री दाहाल

नेपालखोज २०८० असोज २ गते ७:४१

वाशिङ्टन डिसी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको सहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध रहेको जानकारी दिएका छन् ।

उनले भने, ‘सहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपालले उच्च प्राथमिकता दिएको छ । यसका लागि नेपालले आफ्ना योजना, नीति तथा कार्यक्रममा सहश्राव्दी लक्ष्यलाई एकीकृत ढङ्गले अगाडि वढाएको छ ।’

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाअन्तर्गतको ‘विश्व सहश्राब्दी समिट’लाई अतिकम विकसित देशहरूको तर्फबाट सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘आजको मितिमा हामीहरू विश्व सहश्राब्दी लक्ष्य २०३० को उद्देश्य हासिल गर्न आधा बाटोमा रहेका छौँ, यो हासिल गर्नका लागि हामीहरू गम्भीरतापूर्वक सही मार्गमा रहेका छौँ ।’

उनले सन् २०३० सम्ममा गरिबीको अन्त्य र असमानता हटाउनका लागि दृढ रहेको उल्लेख गर्दै यही लक्ष्यअनुरुप कसैलाई पनि पछाडि नछाड्ने योजनामा प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘हामीहरू सन् २०२६ सम्ममा मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति हुन र दिगोरूपमा अगाडि बढ्ने योजनामा रहेका छौँ । साथै नेपाल पेरिस सम्झौतालाई हासिल गर्न र सन् २०४५ सम्ममा शून्य कार्वन उत्सर्जनको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको छ । हाम्रो राष्ट्रिय कार्ययोजनालाई मूर्तरुप दिन विकास साझेदारहरूलाई निरन्तर सहकार्यको लागि अपिल पनि गर्दछौँ ।’

प्रतिक्रिया