बुधबार, असोज १७, २०८०

स्वार्थ बाझिने रेटिङमा केयर रेटिङ्सलाई धितोपत्र बोर्डले गर्‍यो कारवाही

नेपालखोज २०८० असोज २ गते १९:३८

काठमाडौं । स्वार्थ बाझिने रेटिङ गरेपछि नेपाल धितोपत्र बोर्डले केयर रेटिङस् नेपाललाई कारवाही गरेको छ । २ असोज मंगलबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले केयर रेटिङ्सलाई नगद जरिवाना गराएको धितोपत्र बोर्ड स्रोतले जनाएको छ ।

नियम विपरीत स्वार्थ बाझिने रेटिङ गरेको पुष्टि भएपछि बोर्डले कम्पनीलाई ५० हजार रूपैयाँ नगद जरिवाना गरेको हो । विशाल ग्रुपको मुख्य लगानी रहेको केयर रेटिङ्सले सोही समूहको मुख्य लगानी रहेको अन्य कम्पनीको रेटिङ गरेपछि नेपाल धितोपत्र बोर्डको २४ पुस २०७९ मा बसेको सञ्चालक समितिको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पस्टीकरण सोधेको ८ महिना नाघेपछि कारवाही गरेको हो ।

क्रेडिट रेटिङ नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको क्रेडिट रेटिङ गरेको भन्दै बोर्डले २४ पुस २०७९ मा कारवाही गर्ने निर्णय गरेको थियो ।

कम्पनीलाई धितोपत्र सम्बन्धी ऐन २०६३, को दफा १०१ (७) अनुसार हदैसम्मको कारवाही किन नगर्ने ? भनी सफाइ पेश गर्न निर्देशन दिएको थियो ।

यस्तै कम्पनीलाई क्रेडिट रेटिङ नियमावली २०६८ विपरीत गरेको रेटिङ किन रद्द नगर्ने तथा केयर रेटिङ्स नेपाल लिमिटेडको अनुमतिपत्र किन निलम्बन नगर्ने ? भनी स्पष्टीकरण पेश गर्न बोर्डले निर्देशन दिएको थियो ।

प्रतिक्रिया