विज्ञान र गणितका शिक्षक अभाव

अर्घाखाँची । मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ ।
गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक कमल पछाइले बताए ।
राम्रो विषय लिएर पढेका युवा जनशक्ति रोजगारी तथा अध्ययनका लागि विदेशमा जाने चलनले गाउँमा शिक्षक पाउन नसकिएको उनको भनाइ छ ।
शीतगङ्गा नगरपालिका–९ को पाकुरी माध्यमिक विद्यालयले पनि गणित र विज्ञान विषयका लागि तीन पटकसम्म विज्ञापन आह्वान गर्दापनि शिक्षक पाउन सकेको छैन् ।
नगरपालिकाको विकट क्षेत्र मानिने सिद्धाराको पाकुरी माविमा गणित र विज्ञान विषयको शिक्षक पाउन नसकेपछि पढाइ प्रभावित भएको शीतगङ्गा नगरपालिकाका शिक्षा अधिकृत विनोद पोख्रेलले बताए । पढेलेखेका मानिस विदेश पलायन हुन थालेपछि विद्यालयमा दक्षजनशक्तिको अभाव बढेको उ्नको भनाइ छ ।
विष्णुपथ चौपारी आधारभूत विद्यालय शीतगङ्गा नगरपालिका–७ लामातालमा पनि गणित र विज्ञान विषयको शिक्षकका लागि तीन पटकसम्म विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकिएको छैन ।
पाणिनी गाउँपालिका–७को जनसेवा माध्यमिक विद्यालयले पनि माध्यमिक तहमा विज्ञान विषयको शिक्षक आह्वानका लागि विज्ञापन भए पनि अहिलेसम्म शिक्षक पाएको छैन । पाँच पटकसम्म विज्ञापन आह्वान गर्दा पनि शिक्षक नपाएको प्रधनाध्यापक शालिकराम बेल्वासेले बताए ।
पछिल्लो समय विद्यार्थी विज्ञान विषय लिएर उच्च माध्यमिक तह तथा बिएसी पास गरिसकेपछि अध्ययन तथा रोजगारीका लागि विदेशमा जानेर र उतै बस्ने परिपाटीले गाउँमा रहेका विद्यालयमा शिक्षक पाउन नसकिएको उनको भनाइ छ ।
प्रतिक्रिया