बुधबार, फागुन ९, २०८०

सबै जातजाति भाषाभाषीको माग सम्बोधन हुनुपर्छ : बिजुक्छे

नेपालखोज २०८० असोज ७ गते १९:१६

दमक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सबै जातजाति भाषाभाषीहरूको मागलाई सम्बोधन गर्नु सरकारको दायित्व भएको बताए ।

कोशी प्रदेशको नामकरणमा असहमति जनाउँदै पहिचानवादी समूहले आन्दोलन चलाइरहेको बेला आज झापाको दमक आइपुग्नुभएका अध्यक्ष विजुक्छेले देशका सबै भाषाहरूको संरक्षण गरी भाषिक, सांस्कृतिक रूपमा बलियो देश निर्माण गर्न जरुरी भएको बताए ।

सोभियत सङ्घले त्यहाँका सबै भाषाभाषीको विकास गरेर देशलाई बलियो बनाए झैँ यो देशलाई पनि त्यसरी नै समृद्ध बनाउन सकिने उनको भनाइ छ । उनले नागरिकले आफ्ना हक, अधिकारका लागि आन्दोलित हुनुपर्ने अवस्था आउनु ठीक नभएको धारणा राखे । अध्यक्ष बिजुक्छेले देशभक्त समाजवादी मोर्चाको अभियानमा केन्द्रित हुन नागरिकलाई आह्वान गरे ।

आफूद्वारा लिखित ‘समाज विकासको एक झलक’ र ‘युक्रेनमा नवनाजीवाद’ पुस्तकबारे अन्तरक्रियामा सहभागी हुन प्रमुख वक्ताका रूपमा प्रस्तुत भएका उनले सहभागीसँग राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक परिवेशका विषयमा अन्तरक्रिया गरे ।

सो अवसरमा देशभक्त समाजवादी मोर्चाका अध्यक्ष एवं पूर्वमन्त्री गोपाल किरातीले पूर्वमा चलिरहेको पहिचानको आन्दोलनप्रति समर्थन जनाउँदै यसलाई ठूला दल र सरकारले सम्बोधन गर्नुपर्ने उल्लेख गरे ।

सो पुस्तकमाथि डा कमल तिगेलासहित नेमकिपाकी सङ्घीय सांसद् सदस्य सिर्जना सैजु, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवा, जयराम संयोकलगायतले पनि चर्चा गरेका थिए ।

प्रतिक्रिया