शुक्रबार, वैशाख ७, २०८१

एकमुखे रुद्राक्ष, नागमणिलगायत सर्वसाधारणलाई देखाइयो

नेपालखोज २०७८ मंसिर १८ गते १५:४९

काठमाडौं । पशुपतिनाथको भण्डारमा राखिएको भगवान कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष, शंखलगायत पुरातात्विक महत्वका सामग्री सर्वसाधारणलाई देखाइएको छ । भण्डारमा राखिने यी सामग्री प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन इच्छुक सर्वसाधारणलाई देखाउने गरिन्छ ।

अनादिकालदेखिका यी सामग्री बाला चतुर्दशीको भोलिपल्ट अर्थात् औँसीका दिन देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिएका छन् ।

बाला चतुर्दशीका अवसरमा टाढाबाट आएर शतबीज छरेकाले औंषीका दिन बिहान धार्मिक, पुरातात्विक एवं ऐतिहासिक र सांस्कृतिक महत्वका सामग्री हेरेरमात्र फर्कने चलन रहँदै आएको छ । त्रयोदशीदेखि औँसीसम्म नै पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्छ ।

पशुपतिनाथ मूल मन्दिरको पश्चिम मूलढोका अगाडि राखिएका ती सामग्री सुरक्षा निकाय एवं कोषका कर्मचारीको सहयोगमा दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । दर्शन गराएपछि आजै ती सामग्री भण्डारमा राखिने गरिन्छ ।

प्रतिक्रिया