अब पैसा नहुनेले पनि उपचार पाउनुपर्छ : मन्त्री जोशी

नेपालखोज २०८० असोज ७ गते २०:४२

चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अब पैसा नहुनेले पनि उपचार पाउनुपर्ने बताएका छन् । मन्त्रालयले आज भरतपुर अस्पतालमा आयोजना गरेको ‘सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम, सार्वजनिकीकरण तथा सम्झौता हस्ताक्षर कार्यक्रम’ मा बोल्दै उनले सङ्घ र प्रदेशको सामाजिक स्वास्थ्य सुरक्षाको कार्यक्रमअन्तर्गत सबैलाई जोडेर अकालमा ज्यान जाने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

संविधानमै स्वास्थ्य भनेको नैसर्गिक अधिकार हो भनेर लेखिएको भन्दै उहाँले स्वास्थ्य सबैको पहुँचमा पुग्नुपर्ने बताउनुभयो । उनले भने, ‘हुनेखाने वर्गको हातमा मात्रै शिक्षा र स्वास्थ्य छ, हुँदाखाने वर्गको हातमा पनि शिक्षा र स्वास्थ्य पु¥याउनुपर्छ भनेर अहिले तीनै तहका सरकार लाग्नुपर्छ, लाग्छौँ ।’ आममानिसलाई प्रदेश सरकारले गरेको कामबारे थाहा नभएको भन्दै उनले प्रदेशले दिएको सामाजिक सुरक्षाको अधिकतम उपभोग गर्न आग्रह गरे । आफू मन्त्री नहुँदासम्म पनि प्रदेश सरकारले गरेका धेरैजसो कामबारे अनभिज्ञ रहेको उनको भनाइ थियो ।

उनले प्रदेश सरकारले गरेको काम जनतासमक्ष पु¥याएर त्यसको लाभ सार्वसाधारणलाई दिलाउनुपर्ने बताए । यसैगरी हृदयघातको उपचारका लागि रु एक लाख १० हजारसम्म निःशुल्क व्यवस्था गरिएको, प्रदेशभित्रका बिरामीका लागि रगत निःशुल्क गरिएको भन्दै उहाँले यसलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले स्वघोषणा गरेर निःशुल्क रगत पाउने व्यवस्था गरिएको बताए । प्रदेशअन्तर्गतका १३ वटा अस्पतालमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई दन्त सेवा निःशुल्क गरिएको सो अवसरमा मन्त्री जोशीले जानकारी दिए ।

यसैगरी रगत निःशुल्क गर्न नेपाल रेडक्रस सोसाइटी चितवनसँग सम्झौता भएको छ । बीमा बोर्ड भरतपुरसँग स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमाका लागि सम्झौता गरिएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य माया श्रेष्ठ, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेल, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका निमित्त सचिव दीपक तिवारी, मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा खगेश्वर गेलाल लगायतले बोलेका थिए ।

प्रतिक्रिया