शनिबार, माघ २६, २०८१

प्राविधिक शिक्षालय सञ्चालन गर्दै आँबुखैरेनी

नेपालखोज २०८० असोज ८ गते ६:५१

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको प्राविधिक शिक्षा पढ्ने चाहना पूरा गर्न गाउँपालिकाले आफ्नै शिक्षालय खोल्ने तयारी गरेको हो । माध्यमिक तह अध्ययन सकेपछि प्राविधिक शिक्षा अध्ययनका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

Advertisement

यसका लागि गाउँपालिकाले वडा नम्बर २ ढकालटारमा रहेको विद्युत् प्राधिकरणको अलपत्र भवन प्रयोगका लागि तयारी गर्ने जनाएको छ । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको उक्त भवनमा गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखेको उनले बताए । अध्यक्ष चुमानले भने, ‘एकातिर स्थानीय जनताको प्राविधिक विषय पढ्ने चाहना हुँदाहुँदै पनि जमिन अभावका कारण गाउँपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गर्ने निर्णय गरेर पनि प्राविधिक शिक्षालय स्थापना गर्न सकेको छैन । अर्कोतिर गाउँपालिकामा रहेको जमिन र सो जमिनमा निर्माण भएको संरचना अलपत्र अवस्थामा रहनु विडम्बना हो ।’

ढकालटारमा जीर्ण अवस्थामा रहेको भवन संरक्षण तथा उपयोगका लागि गाउँपालिकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग अनुमति माग गरेको छ । कित्ता नम्बर १७५ को क्षेत्रफल ६–१३–३ र कित्ता नम्बर १७४ को क्षेत्रफल ६–७–०–१ को जमिन संरक्षण तथा उपयोगका लागि गाउँपालिकालाई अनुमति दिन माग गरिइएको हो । मस्र्याङ्दी जलविद्युत् केन्द्र निर्माणको समयमा कामदारलाई आवास व्यवस्थापनका लागि स्थानीयबाट अधिग्रहण गरी संरचना निर्माण गरिएको छ । विद्युत् प्राधिकरणले तालिम केन्द्र सञ्चालन गर्ने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन ।

पछि तत्कालीन सङ्कटकालको बेलामा नेपाली सेनाले उपयोग गरेको उक्त जग्गामा विगत लामो समयदेखि नेपाली सेनाले उपयोग गर्न छाडे पनि संरक्षण अभावमा सो जमिन र संरचना खण्डहरमा परिणत भएका छन् । अध्यक्ष चुमानले ऊर्जा मन्त्रालयले त्यसको संरक्षण र प्रयोगका लागि गाउँपालिकालाई अनुमति दिएमा त्यहाँ प्राविधिक शिक्षालय स्थापनाको प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

प्रयोगविहीन जीर्ण भवनलाई पालिकाले मर्मत गरेर सञ्चालनमा ल्याउने अध्यक्ष चुमानले बताए । ‘भवन यत्तिकै राख्नुभन्दा त्यसको प्रयोग पनि हुने, पालिकालाई पनि सहज हुने भएकाले उक्त भवन उपयुक्त छ भन्ने लागेको छ’, उनले भने ।

प्रतिक्रिया