दसैँ–तिहार सुरक्षा विषेश योजना लागू गर्ने तयारीमा प्रहरी

नेपालखोज २०८० असोज ९ गते २१:३४

काठमाडौं । नेपाल प्रहरीले दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यही असोज २१ गतेदेखि यस वर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागू गर्ने भएको छ । विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले आ-आफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँतिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताए ।

दसैं–तिहारजस्ता चाडपर्वमा अपराधिक क्रियाकलाप बढी हुने भएकाले त्यसतर्फ सबैले चनाखो भएर लाग्न तथा आफ्ना घर, छिमेकमा त्यहाँ गतिविधि भएमा वा हुने सङ्केत देखिएमा तत्काल नजिकको प्रहरी युनिटमा वा निःशुल्क नम्बर १०० मा खबर गर्न समेत प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले आग्रह गरे । यसैगरी प्रहरी प्रधान कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ ।

नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रवन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।

उनका अनुसार दसैँ–तिहार विशेष सुरक्षा योजना लागू भएपछि साविकभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने र सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलाप रोक्नका लागि प्रहरीलाई चुस्त रुपमा परिचालन गर्ने गरिनेछ । यसवर्षको दसैँ–तिहारमा कतिजना सुरक्षाकर्मी परिचालन हुन्छन भन्ने कुरा केही दिनमै सार्वजनिक गरिने उहाँले जानकारी दिए ।

प्रतिक्रिया