चितवनको केरामा पानामा टिआर–४ को उच्च जोखिम

नेपालखोज २०८० असोज ११ गते १९:५६

चितवन । जिल्लामा लगाइएको केरामा पानामा (टिआर–४) को उच्च जोखिम देखिएको छ । छिमेकी जिल्ला नवपुरको त्रिवेणीमा लगाइएको केरामा यो रोग देखिएसँगै यहाँ पनि उच्च जोखिम भएको हो । केरामा रोगको उच्च जोखिम भएपछि व्यवसायीलाई केरा आयात गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले व्यवसायी र कृषकबीचको अन्तक्र्रिया आयोजना गरी केरा र बिरुवा आयात गर्दा सावधानी अपनाउन अनुरोध गरेको हो । केरामा लाग्ने पानामा टिआर–४ नियमनका लागि सिफारिस गरिएको प्राविधिक आचारसंहिता पूर्णरूपमा पालना गरेमा यो रोग भित्रन नसक्ने भन्दै कार्यालयले किसान र व्यवसायीलाई नियमको पालना गर्न अनुरोध गरेको छ ।

जिल्लामा अहिलेसम्म नदेखिएको भए पनि यहाँ यसको सङ्क्रमण हुने जीनाइन जातका केरा लगाइएकाले सावधानी अपनाउन कार्यालयले आग्रह गरेको हो । कार्यालयले छिमेकी जिल्लामा आइसकेका कारण यो जिल्ला पनि उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयका सूचना अधिकारी ईन्द्रप्रसाद ढुङ्गानाले अहिलेसम्म जिल्लामा यो रोगको सङ्क्रमण नदेखिए पनि सावधानी अपनाउन अनुरोध गरे ।

केराको बगानमा जैविक सुरक्षा प्रणाली अपनाउने, केरा आयात गर्दा क्रेटमा वा प्याकिङ गरेर मात्र आयात गर्न, बगैँचामा रहेको घाँस काटेर बगैँचा बाहिर लैजान नहुने, केरा फल ढुवानी गर्दा एकद्वार प्रणाली अपनाउने, केरा बगानबाट पानी बाहिर बगेर जान नदिने, नयाँ बगैँचा स्थापना गर्दा सावधानी अपनाउनुपर्ने, सङ्क्रमित क्षेत्रको नर्सरीबाट केराको बेर्ना बाहिर जान नदिनेजस्ता १८ वटा आचारसंहिता कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका केरा जोनका संयोजक विष्णुहरि पन्तले यो रोग केराको कोभिडभन्दा पनि डरलाग्दो हुने भन्दै उच्च सतर्कता अपनाउन सके रोकथाम गर्न सकिने बताए । उनले भने, ‘जिल्ला भित्रने केराहरू पात र डाँठबिना भित्र्याउनुपर्छ ।’ माटो, केराको डाँठ र पातबाट सर्ने भएकाले केरा आयात गर्दा यी कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

चितवनमा अहिलेसम्म नदेखिए पनि उच्च सावधानी अपनाउन जरुरी रहेको उनको भनाइ थियो । जिल्लामा अन्य जिल्लाबाट गानो ल्याएर किसानले खेती नगरेका कारण अहिलेसम्म देखा नपरेको उनले बताए । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कँडेलले महामारी कतिखेर हुन्छ भन्दा पनि हुनै नदिनका लागि आफूहरू लागिपरेको बताए । राज्यका निकायबाट यसलाई भित्रन नदिनका लागि कार्यालय लागिपरेको भन्दै व्यवसायी र किसानले समेत यसमा ध्यान दिनुपर्ने उनले बताए ।

यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेँलो हुने, त्यसपछि पातको किनारा पहेँलिन थाल्ने र पात सुकेर डाँठ भाँचिने गर्दछ । जिल्लामा दुई हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा अहिले केराखेती हुँदै आएको छ । जसमध्ये चार सय हेक्टर क्षेत्रफलमा जीनाइन केरा लगाइएको छ ।

प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका अनुसार विसं २०७२/७३ बाट चितवनमा यो जाताको केराखेती गरिँदै आइएको छ । कार्यालयका अनुसार हाल चितवनमा सात सय १२ जना व्यावसायिक किसान रहेका छन् । हालसम्म जिल्लामा दुई लाख ८० हजार बोट जीनाइनका बिरुवा वितरण गरिसकिएको छ ।

प्रतिक्रिया