स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई ३ वर्षभन्दा बढी सजाय

नेपालखोज २०८० असोज १४ गते ६:२७

काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेहरुलाई तीन वर्षभन्दा बढी सजाय हुने कानुनी प्रबन्ध गर्न सरकार सहमत भएको छ । शनिबार भएको छ बुँदे सहमतिसँगै मंगलबारदेखि चलिरहेको स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता भएको छ ।

मणिपाल अस्पताल, पोखरा लगायतका स्थानमा कुटपिट भएपछि स्वास्थकर्मीहरुले सुरक्षित कार्यस्थल संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका थिए ।

सरकारले घटनामा संलग्नहरुलाई कानुन अनुसार कारबाही गर्ने बताएपनि चिकित्सकहरुले आन्दोलन जारी राखेका थिए । विद्यमान कानुनी व्यवस्थाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको मनोबल नउठ्ने भन्दै उनीहरुले कुटपिट गर्नेहरुलाई तीन वर्षभन्दा बढी सजाय हुनुपर्ने माग गरेका थिए ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि हातपात गरे एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना दुबै सजय हुने व्यवस्था छ ।

शनिबार गृह मन्त्रालयमा भएको वार्तामा सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट गर्ने व्यक्तिलाई तीन वर्षभन्दा बढी सजायको व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । पाँचबुँदे सहमतिको तेस्रो नम्बरमा भनिएको छ, ‘… यो लगायतका विषयमा कानुन संशोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हप्ताभित्र प्रक्रिया अगाडि बढाउने ।’

सरकार र संघर्ष समितिबीच कुटपिटमा संलग्नहरुलाई अहिलेकै ऐन अनुसार कारबाही गर्ने र मणिपाल लगायतका स्वास्थ्य संस्थामा सुरक्षा भरपर्दो बनाउने सहमति भएको छ ।

प्रतिक्रिया