मंगलबार, वैशाख २५, २०८१

तीनकुने घटनाका आरोपीको सनसनीपूर्ण बयान, अरु ६ भन्दा बढी हत्यामा संलग्न भएको भन्दै अनुसन्धान गर्न चुनौती

नेपालखोज २०८० असोज १४ गते २०:०२

काठमाडौं । दुई साताअघि तीनकुनेमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका सञ्जय भण्डारीले अनुसन्धान अधिकृतहरुसामू कम्तिमा थप ६ जनाको हत्यामा संलग्न रहेको दाबी गरेका छन् ।

पटकपटक सनसनीपूर्ण बयान दिन थालेपछि जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसन्धान अधिकृतहरु समेत हैरान बनेका छन् ।

तीनकुनेस्थित दिव्य सः मिलभित्र २९ भदौमा ४ जनाको हत्या भएको घटनामा प्रहरीले क्लोज सर्किट (सीसी) क्यामरा फुटेजको आधारमा भण्डारीलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा रहेका भण्डारी जन्मजात बोल्न नसक्ने हुन् ।

विशेष शिक्षामार्फत कक्षा १२ सम्म पढेका उनले घटनामा संलग्न रहेको स्वीकारोक्तिसहित बयान दिएपछि प्रहरी डकुमेन्टेसनको काममा जुटेको थियो । उनले भनेका विषयहरुलाई अदालतमा प्रमाणित गराउन थप तथ्यहरुको संकलन गरिरहेको थियो ।

तर, अनुसन्धानमा त्यतिबेला ट्वीस्ट आयो, जब भण्डारीले राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केदारप्रसाद अधिकारीको उपस्थितिमा अन्यत्र पनि आफूले विभिन्न व्यक्तिको हत्या गरेको बताइदिए ।

सुरुमा बयान दिँदा मिडियामा पढेका विषयलाई लिएर प्रहरीलाई हैरान पार्न मात्रै भनेको हुनसक्ने अनुसन्धान अधिकृतहरुको आशंका थियो ।

तर जब बाहिर आउँदै नआएका केही विषयहरु पनि बताउन थाले, प्रहरीले विस्तृत अनुसन्धान थालेको हो ।

उनको दाबीमाथि विस्तृत अनुसन्धान गर्नुपर्ने प्रशस्तै आधारहरु देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

प्रतिक्रिया