राजा चार्ल्स तृतियको त्यो पोखराको यात्रा

सुनिल उलक २०८० असोज १५ गते ८:३९

राजा चार्ल्स तृतीय राजा बन्नु अगाडि प्रिन्स चार्ल्सका रूपमा नेपालमा तीन पटक आएका थिए । पहिलो पटक उनको भ्रमण राजा वीरेन्द्रको शुभ राज्याभिषेकमा वि.सं. २०३१ सालको फागुन १२ गतेका लागि बेलायत सरकारका तर्फबाट प्रतिनिधि भएर आएका थिए । यो Special Coronation Visit भएको हुँदा विशिष्ट पाहुनाका रूपमा तीन दिन सोल्टी होटेलमा बसेका थिए । अधिकांश समय काठमाडौंमा नै रहे ।

दोस्रो पटक चार्ल्सको आगमन २०३७ सालको मंसिरमा भएको थियो । बेलायती युवराजको ट्रेकिङको इच्छा जागेपछि नेपालमा ट्रेकिङ व्यवसायको अग्रणी व्यक्तित्वका रूपमा रहेका कर्णेल जिमी रवर्ट्सले सबै व्यवस्था मिलाएका थिए । चार्ल्सको यात्रा पूर्व प्रख्यात हिमाल आरोही पर्तेम्बा शेर्पाले युवराजले यात्रा गर्ने रुटको निरीक्षण गरेका थिए । यसरी सम्पूर्ण तैयारी भइसकेपछि प्रिन्स अफ वेल्सले यात्रा थालेका थिए ।

जिमी रवर्ट्स, तिनै ब्यक्ति हुन् जसले नेपालमा ट्रेकिङ व्यवस्थाको शुरुवात गरेका थिए । राणा सरकारको अन्तिम समय तिर बेलायती साहसिक घुमन्ते विल टिलम्यानले नेपालको हिमाली क्षेत्र तर्फ पैदल हिड्ने अनुमति पाएका थिए । उनले त्यतिबेला काली गण्डकी क्षेत्र, हेलम्बु क्षेत्र र खुम्बु क्षेत्र पैदल नै घुमेका थिए । उनले आफ्नो साथ सयौ भरियाहरु पनि लिएर गएका थिए । यो नै नेपालको पहिलो ट्रेकिङको शुरुवात थियो ।

हुन त नेपालीहरु सयौ वर्ष देखि गाउँघर देखि महिनौ यात्रा गएर अन्यत्र पुग्दथे । तर यसलाई ट्रेकिङ भनिएन । तर विल टिलम्यानको साथ जाने भरियाले मनग्गे पैसा बोकेर फर्किए । त्यसपछि बल्ल यो पनि एउटै पेशा हुन सक्छ भन्ने अवधारणा बन्यो । उनको भ्रमणको लगत्तै अन्नपूर्ण हिमाल आरोहणका लागि मोरिस हर्जोग ठूलो समुहका साथ आए ।

साथमा सयौ भरियाले काम पनि पाए । यस पछि अमेरिकी सगरमाथा आरोहण टोली जसको नेतृत्व चार्ल्स ह्युस्टनले गरेका थिए, सगरमाथा आरोहणका लागि पहिलो पटक नेपाली भूमी हुँदै सगरमाथा आधार शिविर पुगे । यस आरोहण टोलीका साथ पनि सयौ नेपाली भरियाहरुले रोजगारी पाए ।

यस्तै नेपालमा ट्रेकिङ व्यवस्थाको सम्भावना बढी रहेको बेला गोर्खाली सेनाका अवकाश प्राप्त कर्णेल जिमी रवर्ट्स, बेलायती राजदूतावासमा सैनिक सहचारीका रुपमा काठमाडौं आइपुगे । उनैले नेपालमा पहिलो ट्रेकिङ एजेन्सीका रुपमा २०२१ सालमा माउन्टेन ट्राभल नेपाल दर्ता गरे । यहि नै नेपालमा ट्रेकिङ व्यवस्था गर्ने आधिकारिक पहिलो संस्था हो । यही माउन्टेन ट्राभल नेपालले नै तत्कालिन युवराज चार्ल्सको छोटो ट्रेकिङको व्यवस्था मिलाएका थिए ।

चार्ल्स नेपालको ग्रामिण क्षेत्रको यात्रामा आउने समय डायनासंगको प्रेम सम्बन्धको अंकुरण भइसकेको थियो । केही महिना लामो प्रेम सम्बन्ध पछि चार्ल्सले नेपाल भ्रमण गर्नु अगाडि मात्रै चार्ल्सले विवाहका लागि प्रस्ताव पनि राखिसकेका थिए ।

पोखरामा ट्रेकिङ पुरा गरि फर्केको सात महिना पछि प्रिन्स चार्ल्स र लेडी डायनाको विवाह भयो । तर यो विवाह लामो समय सम्म चल्न सकेन । विवाह भएको ९ वर्ष पछि उनिहरु अलग बस्न निधो गरे । लेडि डायना स्वच्छन्द स्वभावका थिए ।

दरवारको नीति नियम भित्र बाँधिएर रहन चाहेनन् । जसले गर्दा सासु बुहारी बिच केही कटुता शुरु भयो । जसले गर्दा अन्तत पारपाचुकेको अवस्था आयो । तर दरवार प्रिन्स चार्ल्ससंगको सम्बन्ध बिच्छेद पछि पनि डायनाको स्वच्छन्द जीवनलाई स्विकार गर्न चाहेको देखिएन ।

दरवारको पूर्व बुहारी अझै पनि समय समयमा चर्चामा नै रहे । जसले गर्दा बर्मिङघमको नाम गाँसिरह्यो । यो बेलायती रानी एलिजाबेथलाई सह्य भएन । शायद यसैको परिणती नै होला । पारपाचुके गरेको एक वर्ष पछि अस्वभाविक कार दुर्घटनामा लेडी डायनाको मृत्यु भयो ।  

रोयल ट्रेक

बि.सं. २०३७ मंसिर २३ गते पोखरा आइपुगेका बेलायती युवराज चार्ल्सले रात फेवा किनारको फिसटेल होटलमा बिताए । भोलिपल्ट बिहानै विजयपुरस्थित चाँपको चौरबाट ट्रेकिङ थाल्नुभएको थियो । उनलाई साथ दिन अधिराजकुमार धिरेन्द्र वीर बिक्रम शाह हुनुहुन्थ्यो भने प्रसिद्ध पर्वतारोही पर्तेम्बा शेर्पा साथ साथ हिडेका थिए ।

यो यात्रामा करिव १५० अन्य पनि थिए । जसमा युवराज चार्ल्सका डाक्टर, सुरक्षा अधिकारी तथा नीजि सचिवहरु पनि थिए । पहिलो रात चिन्तेको डाँडामामा बिताएका थिए । दोस्रो रात स्याक्लुङको डाँडामा र तेस्रो रात रुपाकोटको चिसापानीमा तथा चौथो रात बेगनास तालको जङ्गलमा बास बसेर काठमाडौं फर्कएका थिए ।

चार्ल्सको यात्रा पछि विश्व भरबाट युवराज चार्ल्सले यात्रा गरेको बाटो हिड्न पर्यटकहरु आउन थाले । जिमी रवर्ट्सले त्यही यात्रा भएको एक डाँडाको टुप्पमा टेन्ट बाँधेर ब्यबस्थापनहरु गर्न थाले । बिस्तारै पर्यटकहरुको चाप बढ्न थाले पछि स्थानीयहरुसंग जमिन किने । यसपछि त्यहाँ टाइगर माउन्टेन लज खुल्यो ।

यसरी बेलायती युवराजले नेपालको ग्रामिण क्षेत्रमा पैदल यात्रा गरेको विवरण विश्वको छापामा खासै छाउन पाएन । किनकी त्यही समय (मंसिर २५) गते विश्व प्रसिद्ध अमेरिकी गायक जोन लेननको अमेरिकामा गोली हानी हत्या भएको थियो । प्रख्यात बिटल्स ग्रुपको गायक जोन लेननको हत्याको समाचारले विश्वको हरेक समाचार पत्रमा प्राथमिकता पायो । जसले गर्दा प्रिन्स चार्ल्सको ट्रेकिङको समाचार ‍ओझेलमा परेको थियो ।

यसरी प्रिन्स चार्ल्सले यात्रा गरेको त्यो बाटोलाई पछि रोयल ट्रेक भनेर चिनाईयो । त्यहीँ नाममा धेरैले यात्रा पनि गरे । समयसंगै र सरकारको बेवास्ताले रोयल ट्रेक पनि हरायो । बेला बेलामा ब्युताउने कथा त सुनिन्छ तर किन हो पर्यटन ब्यबसायीले खासै चासो नै दिदैन ।

अब त तत्कालिन युवराज चार्ल्स, बेलायती राजा चार्ल्स तृतिय भइसकेका छन् । उनको नामले फेरी यो ट्रेक ब्युताउने हो भने यसले त्यस क्षेत्रको नै समग्र बिकास हुन सक्छ । आर्थिक रुपले गाउँलेहरु सक्षम हुन सक्दछ । अब King Charles III Route (राजा चार्ल्स तृतिय रुट) नाम दिएर यस रुटलाई फेरि ब्युताउनु पर्दछ ।

प्रतिक्रिया