भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सरकारलाई सघाउँछौं : महासचिव पोखरेल

कास्की । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सरकारलाई सहयोग गर्न आफ्नो पार्र्टी तयार रहेको बताएका छन् । सो पार्टीको गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले एमालेकै दबाबमा सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन भएको दाबी गरे ।
देशमा छाएको आर्थिक मन्दीका कारण उद्योगी तथा व्यवसायी समस्यामा परेर निरुत्साहित हुने अवस्था आएको उनको भनाइ छ । उनले एमाले नेतृत्वमा सरकार छँदा उच्च अङ्कको आर्थिक वृद्धि भएको समेत बताए ।
उपमहासचिव गुरुङले नयाँ राजनीतिक दलसँग कुनै योजना, दर्शन र कार्यक्रम नरहेको जिकिर गरे । एमालेका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्टले युवाशक्ति देश छाडेर गइरहेकोमा चिन्ता व्यक्त गरे । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारी, पार्टीका केन्द्रीय सचिव पद्मा अर्याल, केन्द्रीय सदस्य एवं कास्कीका इन्चार्ज थममाया थापा, प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मोहन रेग्मी लगायतले पार्टीलाई एकताबद्ध बनाउँदै आगामी निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिए ।
एमाले गण्डकीको अधिवेशन भोलिसम्म चल्नेछ । अधिवेशनको दोस्रो दिन बन्द सत्र तथा नयाँ नेतृत्व चयन हुनेछ । अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका नौ सय सात प्रतिनिधि सहभागी भएको एमाले गण्डकीका उपसचिव एवं प्रचारप्रसार उपसमिति संयोजक रश्मी आचार्यले जानकारी दिए ।
प्रतिक्रिया