सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ

नेपालखोज २०८१ कार्तिक २६ गते १६:२६

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट सुन जस्तो देखिने धातु ३ सय ५६ ग्राम सहित भारत उत्तर प्रदेश गोण्डा कान्जे मोउ बस्ने २७ वर्षीय कनैया लाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले बुटवलदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ६८५८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार कनैयालाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ डार्केफाँटस्थित सडकमा ताल्तीबाट मलेखुतर्फ जाँदै गरेको बा.२० च १९९९ नम्बरको बलेरोको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–२ बस्ने १९ वर्षीया अनिशा मिजारको सोमबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको टिचिङ अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको हो । साथै बलेरोको ठक्करबाट घाइते भएकी १ जना पैदलयात्रीलाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहाको लहान नगरपालिका–१७ गोबिन्दपुरस्थित सडकमा तरगेनाबाट लहानतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ ह १०९८ नम्बर अटो अनियन्त्रित भई दुर्घटना हुँदा चालक लहान नगरपालिका–१० बस्ने मो.कुदुस मियाँकी छोरी करिब ३ महिनाकी अफ्रिना खातुनको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया