सोमबार, वैशाख २४, २०८१

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा

नेपालखोज २०८० असोज १६ गते १२:४२

पर्सा । नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ विद्यार्थी नै थुनामा परेको घटना बाहिर आएको छ । वीरगञ्ज महानगरपालिका–२४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि सङ्कायको कक्षा सञ्चालन गर्न माग गरेपछि विद्यार्थीलाई सोही विद्यालयका शिक्षकहरुले थुनेर राखेको घटना सार्वजनिक भएको हो ।

पठनपाठन नियमित सञ्चालन गर्न माग गरेपछि विद्यालय प्रशासनले आफूहरुलाई कुटपिट गर्नाका साथै घन्टौँ थुनेर राखेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

दैनिक सात कक्षा पढाइ हुनुपर्नेमा एक कक्षासमेत पढाइ नभएको जानकारी महानगरपालिकाको शिक्षा महाशाखामा गराउँदा समेत कुनै सुनुवाइ नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

विद्यालय प्रशासनले आफूहरुबाट सबै शुल्क असुल गरे पनि अहिलेसम्म पूरै किताबसमेत उपलब्ध नगराएका कारण दोस्रो वर्षको पहिलो सेमेस्टर परिक्षामा ११ मध्ये एकजना मात्र उत्तीर्ण भएको विद्यार्थीहरु बताउँछन् ।

प्राविधिक शिक्षाको कक्षा नियमित सञ्चालन नभएको विषयमा विद्यालय प्रशासनसँग बुझ्दा विद्यालयका प्रअ बिदामा रहेकाले प्रविधिक कक्षाबारे उनले नै जानकारी दिने जनाएको छ ।

महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यालयमा अध्यापन गराउने शिक्षकले तलब नपाएका कारण पढाइ नभएकोे जानकारी दिए । उनले शिक्षकको सबै तलब समयमै पठाएको विद्यलायको प्रतिवेदनबाट देखिएपछि सो घटनाको छानबिन सुरु गरिएको बताए ।

प्रतिक्रिया