राजा महेन्द्रको समयमा निष्काशित पाँच पैसाको सिक्काहरु

सुनिल उलक २०८० असोज १८ गते ७:५४

यो सिक्काहरू मेरो सङ्ग्रहमा रहेको सिक्काहरू हुन् । यसमा २०२७ र २८ मा निकालिएको प्रुफ क्वाइनहरू भने मसँग छैनन् ।

पाँच पैसाको सिक्का पहिलो पटक वि.सं. १९७६ मा राजा त्रिभुवनको समयमा निष्कासित भएको थियो । १९९९ सम्म ३० मिमी गोलाकारमा एक तर्फ दुई खुकुरी र अर्को तर्फ त्रिशूल भएको तामाको पाँच पैसे सिक्का निष्कासन भएकोमा वि.सं २०००, २००९ र २०१० मा भनेको कलश भएको तामा, निकेल र जिंक मिसिएको सेतो रङ्गको सिक्का निष्कासन भएको थियो ।

२०१० देखि १४ सम्म राजा त्रिभुवन तथा राजा महैन्द्रको समयमा हात भएको काँसको पाच पैसाको सिक्का निष्कासन भयो । यस बिच २०१३ सालमा राजा महेन्द्रको शुभ राज्याभिषेकका अवसरमा विशेष सिक्का निष्कासन भयो ।

२०१४ देखि २०२० सम्म त्रिशूल भएको काँसको पाँच पैसे सिक्का निष्कासन भएको थियो भने २०२१ सालमा अल्युमीनियम मिसिएको काँसको सिक्का निस्कियो । २०२१ देखि २०२३ सालमा भने काँसको पुरानै त्रिशूल भएको डिजाइनमा तर पहिलेको भन्दा केही सानो सिक्का निष्कासन भयो ।

२०२३ बाट २०२८ साल सम्म भने अल्युमीनियमको गाई भएको पाँच पैसाको निष्काशन भयो । २०२८ सालबाट २०३९ सम्म उस्तै आकार प्रकारको राजा विरेन्द्रको नाममा सिक्का निष्काशन भयो । यस बिच २०३१ मा बाँध भएको ४५८४००० थान पाँच पैसे सिक्का र २०३१ सालमै राजा विरेन्द्रको शुभराज्याभिषेकको २८६९००० थान सिक्का निष्काशन भयो । शुभराज्याभिषेकको समयमा बिशेष किसिमको पाँच पैसाको तामा र निकेल मिसिएको शुद्ध सिक्का १ हजार थान पनि निष्काशन भएको थियो ।

२०३९ देखि २०४७ सालसम्म राजा विरेन्द्रको शासनकालमा सानो आकारको १८ मिमीको अल्युमीनियमको सिक्का निष्काशन भएको थियो । २०४७ साल पछि भने पाँच पैसाको सिक्का छाप्न बन्द भयो ।

साधारण पाँच पैसे सिक्काहरूमा पनि २०२७ तथा २०२८ मा राजा महेन्द्रको समयमा र २०२९, ३० तथा ३१ मा राजा विरेन्द्को समयमा बिशेष किसिमको शुद्ध सिक्का थोरै मात्रामा निकालिएको थियो ।

प्रतिक्रिया