एनआरएन फाउण्डेशन अध्यक्षमा थापा, सदस्यमा ढकाल र परियार मनोनित

नेपालखोज २०८० असोज १९ गते १०:५४

काठमाडौं । एनआरएन फाउण्डेशनको हालै बसेको बैठकले फाउण्डेशनको अध्यक्षमा राम प्रताप थापालाई नियुक्त गरेको छ । संघका पूर्व प्रमुख संरक्षक पनि रहेका थापाले संघका संस्थापक सचिव चिरन्जीवी ढकाल तथा बिष्णुमाया परियारलाई सदस्यमा मनोनयन गरेका छन् ।

गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेको एनआरएन फाउण्डेशन गत २०७८ आश्विन ४ मा नेपालको कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत दर्ता गरिएको थियो । फाउण्डेशनका अध्यक्ष जीवा लामीछानेले कार्यव्यस्तताको कारण देखाउँदै राजीनामा दिए पछि थापालाई अध्यक्षमा नियुक्त गरिएको हो ।

‘एनआरएनएसंग समन्वय गरी पारदर्शी र प्रभावकारी किसिमले नेपालमा कल्याणकारी कार्यहरु सम्पन्न गर्ने उद्देश्यले यो फाउण्डेशनको स्थापना गरिएको हो । अब छिट्टै विधान समितिको बैठक बसालेर नीतिगत कुराहरु स्पष्ट पार्नेछौं,’ नवनियुक्त अध्यक्ष थापाले भने ।

नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरू सम्पन्न गर्ने अभिप्रायले स्थापित एनआरएन फाउण्डेशन एक व्यावसायिक, सीमित दायित्व भएको, गैर नाफामूलक, गैरराजनीतिक, तथा गैरसरकारी संस्थाको रुपमा रहने विधानमा उल्लेख छ ।

‘गत २० वर्षमा गैरआवासीय नेपालीहरुले संस्थागत तथा व्यक्तिगत रुपमा अरबौं रुपैंयाँ बराबरको सहयोग नेपालमा गरेका छन् । आगामी दिनमा त्यस्तो सहयोगलाई अरु बढी योजनावद्ध र प्रभावकारी बनाउन हामीले काम गर्नेछौं,’ नव नियुक्त सदस्य ढकालले भने ।

फाउण्डेशनका संस्थापक सदस्यहरुमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्षहरु कुमार पन्त, जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकारहरु कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्याल र अभिनेत्री मनिषा कोइराला रहेका छन् ।

प्रतिक्रिया